सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख सहित छ जना विरुद्ध करिब डेढ अर्ब भ्रष्टाचार गरेको आरोपमा अर्काे मुद्दा दर्ता भएको छ।बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान,जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेल,लेखा अधिकृत विश्वराज पोख्रेल र तत्कालीन इन्जिनियर सागर पौडेल गरी छ जनाको मिलेमतोमा बागमती नगरपालिका ४ र १२ स्थित सागरनाथ वन विकास परियोजना सर्लाहीको करिब एक सय ७३ हेक्टर जमिन अतिक्रमण गरेर बागमती माछा पोखरी(भरत ताल) निर्माण गरेको,आँप बगैंचा,ताल वरपर बाटो र अन्य भौतिक संरचना निर्माण गरी वन क्षेत्रको करिब रु एक अर्ब ४९ करोड ३९ लाख ४३ हजारको सम्पत्ति हिनामिना गरेको अभियोगमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको हो ।
बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका छ जनाले सार्वजनिक पदको दुरुपयोग गरी सागरनाथ वन विकास परियोजना सर्लाहीको सम्पत्ति हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नगर प्रमुख थापा र उपप्रमुख मोक्तान सहित निलम्बनमा परेको छन् ।भ्रष्टाचार अभियोगको मुद्दा किनारा नलाग्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले पनि उनीहरू विरुद्ध वन मुद्दा दायर गरेको हो ।
डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मूर्तिया सेक्टर अन्तर्गत कर्मैया क्षेत्रको जग्गा नगरका पदाधिकारी र कर्मचारीहरुको मिलेमतोमा बागमती माछा पोखरी(भरत ताल)निर्माण सहित अन्य भौतिक संरचना निर्माण गरेको अभियोग उनीहरूमाथि लगाइएको छ ।
वनको जग्गा अतिक्रमणसहित निजी प्रयोजनका लागि प्रयोग गरिएको भन्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीबाट ल्याइएको अभियोग पत्र(मुद्दा) दर्ता भएको जिल्ला अदालतका सर्लाहीका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए ।
वन अतिक्रमण प्रकरणमा वन कार्यालयले अख्तियार,प्रदेश वन मन्त्रालय,वन विभाग र संघीय वन तथा वातावरण मन्त्रालय लगायत निकायबाट पनि प्रमाण संकलन गर्ने काम भएको र त्यसपछि डिभिजन वन कार्यालयबाट यसको अनुसन्धान अघि बढाएर मुद्दा दायर गरेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।
“वनको जग्गा अतिक्रमण भएको छ,त्यस विरुद्घ वन कार्यालयले अदालतको ढोका ढक्ढक्याएको हो,वनको जग्गामा संरचना निर्माण गर्दा स्वीकृति पनि लिइएको थिएन,त्यसैले अतिक्रमण गर्नेविरुद्घ बिगोसहित मुद्दा दायर गरेका छौं,वनको जग्गाभित्र ढुंगा,गिट्टी,बालुवा र माटो उत्खन्न गरी हानि नोक्सानी गरेको अभियोग लगाइएको छ।”डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।
सागरनाथ वन विकास परियोजना सर्लाहीअन्तर्गतको वन क्षेत्रमा स्वीकृति नै नलिई बागमती माछापोखरी (भरत ताल) प्रथम खण्ड अन्तर्गत ३५ दशमलव २० हेक्टर,दोस्रो पोखरी खण्ड अन्तर्गत ३२ दशमलव ६० हेक्टर,नगर वगैँचा अन्तर्गत आँप बगैंचा बनाउँदा ६६ दशमलव ७० हेक्टर,ताल वरिपरिको बाटो र अन्य भौतिक संरचना बनाउँदा ३८ दशमलव ५० हेक्टर गरी ताल क्षेत्रको कुल करिब एक सय ७३ हेक्टर तथा कृषि र बस्तीमा करिब आठ सय १५ दशमलव २० हेक्टर गरी नौ सय ८८ दशमलव २० हेक्टर वनको जग्गा अतिक्रमण गरिएको अभियोग पत्रमा उल्लेख छ । जसमध्ये एक सय ७३ हेक्टर अतिक्रमणमा छ जना प्रतिवादीलाई कसुरदार देखाइएको छ भने बाँकी आठ सय १५ हेक्टर अतिक्रमणबारे पूरक अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।
निर्माण प्रक्रियामा सागरनाथ वन विकास परियोजना सर्लाहीसँग स्वीकृति नलिई अतिक्रमण गरेकाले मुद्दामा वन ऐनविरुद्धको कसुर भएकाले प्रतिवादीउपर पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरिएको अभियोग पत्र अदालतमा पेश भएको छ । अतिक्रमण गरिएको वनको जग्गा पुनःसागरनाथ वन विकास परियोजना सर्लाही कै नाममा समावेश गर्न पनि मागदाबी गरिएको छ ।
ताललगायत संरचना निर्माण गर्दा वन क्षेत्रबाट ४७ लाख दुई सय ८५ घनमिटर वन पैदावार (ढुंगा,गिट्टी,बालुवा र माटो आदि) हिनामिना गरेकामा रु एक अर्ब ४९ करोड बढी बिगो कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
यसमा प्रतिघनमिटर रु नौ का दरले हुन आउने रकमलाई बिगो कायम गरिएको अभियोग पत्रमा उल्लखे गरिएको छ।अनुसन्धानका क्रममा प्रतिवादीहरू बयानपछि जमानीमा छुटेको र पछि सम्पर्कमा नआएकाले उनीहरूविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन पनि मागदाबी गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ।वन अतिक्रमणमा अन्य पनि संलग्न रहेकाले यस विषयमा पूरक अनुसन्धान जारी रहेको वन कार्यालयले जनाएको छ ।
मापदण्डभन्दा बढी औसतमा प्रतिदिन करिब तीन सय ४५ घनमिटर उत्खनन भएको देखिन्छ। तत्काल प्रचलित वातावरण संरक्षण नियमावलीको २०५ अनुसार खानी क्षेत्रअन्तर्गत दैनिक तीन सय घनमिटरसम्म निर्माणमुखी खनिज,ग्राभेल,गिटी र बालुवाको उत्खनन गर्ने प्रस्तावमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने व्यवस्था छ।सोही नियमावलीअनुसार नदीनाला सतहबाट दैनिक दुई सय ५० घनमिटरभन्दा बढी बालुवा,ग्राभेल,गिर्खा र माटो निकाल्ने प्रस्तावका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ।कानुनविपरीत प्रारम्भिक वातावरणीय परीक्षकण प्रतिवेदन सवीकृत गरिएको देखिएको छ।
प्रतिवादीहरू राष्ट्रसेवकसमेत भएको देखिँदा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५९ वमोजिम अनुसन्धान भई कारबाही हुनुपर्ने देखिँदा अख्तियार समक्ष लेखी पठाउने, प्रतिवादीहरूबाट अपराध पीडित संरक्षण ऐन,२०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क बापतको रकम राहत कोषमा जम्मा हुने गरी कारबाहीका लागि माग दाबी गरिएको छ।
अभियोग पत्रमा प्रतिवादीहरू बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोत्तान,
प्रमुख प्रशासकीय अधिकृत पोखरेल,लेखा अधिकृत पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख चौधरीलाई जिम्मा जमानीमा लिने व्यक्तिहरूसँग पटक–पटक सम्पर्क गर्दा उपस्थित गराउन नसकेको उल्लेख छ।अनुपस्थित प्रतिवादी इन्जिनियर पौडेलको हकमा अदालतबाट म्याद जारी भई नियमानुसार गरि पाउन अभियोग पत्रमा पेस गरेको पनि उल्लेख छ।
भरत ताल बनाउँदा कानुनविपरीत वातावरणीय प्रभाव मूल्यांकनसमेत गराएर वन मास्ने काममा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ।गैर कानुनी रूपमा निर्माण गरिएको तालमा भ्रष्टाचार तथा प्रमुख थापाको अकुत सम्पत्ति देखिएको भन्दै उनीसहित उपप्रमुख मोक्तान तथा अन्यलाई २०८१ जेठ २९ मा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।उक्त मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ ।
यता,वन कार्यालयका अनुसार अनुसन्धान अधिकृत समक्ष बागमती नगरपालिकाका नगर प्रमुख थापाले बुढी बागमती नदी उकास र बगर क्षेत्रमा माछापोखरी निर्माण गरेको बयान दिएका छन्।बयानमा नगर प्रमुख थापाले जिल्ला समन्वय समिति सर्लाहीबाट प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गराई संघ,प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा माछापोखरी निर्माण भएको दाबी गरेका छन्।२०७४ मा नगर प्रमुख भएका थापाले २०७५/०७६ मा बुढी बागमती नदी उकास पर्ति बाँझो जमिनमा बागमती माछा पोखरी(भरत ताल) निर्माण सुरुवात गरेका बताएका छन् ।नगरकार्य पालिकाले निर्णय गरेर बागमती माछा पोखरी बनाउने काम सुरु गरेको भएपनि केही स्थानीयले भरत ताल नाम राखेका उनले बताए ।नगर प्रमुख थापाका अनुसार उक्त क्षेत्र सागरनाथ वन विकास परियोजना सर्लाहीको क्षेत्रमा कही कतै नसमेटिएको पाइएपछि खेर गएको जमिनलाई सदुपयोग गर्ने योजना अनुसार संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारका साथै दातृ निकायहरुबाट भएको लगानीलाई बागमती नगरपालिकाले परिचालन गरेको हो ।