जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले ट्राफिक नियम उल्लंघन नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाभर दैनिक रूपमा नियमित ट्राफिक चेकजाँच र कारबाहीलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा प्रहरी प्रमुखको रुपमा झलक पौडेल शर्मा आएदेखि ट्राफिक नियमको पालना गराउन विभिन्न किसिमका अनुगमन तथा कारबाहीलाई तीव्रता दिइएको हो ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीमा हरेक दिन“एक पालिका एक कार्यक्रम ”अभियान बनाएर सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियम उल्लंघनका घटनाहरु घटनाउन सचेतनामुलक सहितका कार्यक्रमहरु आयोजना भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक शर्माले बताए ।उनका अनुसार विद्यालय तथा स्थानीय तहमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बिना हेल्मेट दुईपांग्रे सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिने तथा सवारी साधनमा जडान गरिएका मोडिफाई सामाग्री र कालो सिसाको स्टिकर हटाउने कार्य सञ्चालन भइरहेको हो ।

त्यसैगरी,सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडादर टाँस गरिएको/नगरिएको छ भन्ने अनुगमन,लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था भए/नभएको चेकजाँच तथा स्पष्ट नदेखिने नम्बर प्लेट भएका सवारी साधनलाई नम्बर प्लेट पुनर्लेखन गर्न सूचित गर्ने अभियान पनि सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।

यस्तै,बिना अनुमति (परमिट) सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका सवारी साधन, आवश्यक कागजात विहीन सवारी साधन,मापसे तथा लापसे गरी सवारी चलाउने चालक, तिब्रगति (ओभरस्प्रिट) मा सवारी चलाउने तथा जथाभावी पार्किङ गरिएका सवारी साधनमाथि पनि कडा कारबाही भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक शर्माले बताए ।सबै सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियमको पालना गरे ट्राफिक कारबाहीबाट बच्नुका साथै सडक दुर्घटनाको जोखिम पनि कम हुन्छ भन्ने जानकारी गराउन यस प्रकारको कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ।जुन क्षेत्रका “एक पालिका एक कार्यक्रम” अभियान सञ्चालन हुन्छ त्यही क्षेत्रमा रहेको प्रहरी कार्यालयसंग समन्वय गरि संयुक्त रुपमा कार्यक्रम सञ्चालन सुरु भएको हो ।