करोडौँ खर्चिएर निर्माण गरिएका व्यापारिक भवन प्रयोगमा नआउँदै जीर्ण

209 Shares

aसर्लाहीको लालबन्दी सहित हरिवन नगरपालिकाका विभिन्न स्थानमा करोडौँ खर्चिएर निर्माण गरिएका व्यापारिक भवन प्रयोगमा नआउँदै जीर्ण बनेका छन्।हरिवन नगरपालिका–११ स्थित हरिवन बजारमा आठ वटा बेग्लाबेग्लै व्यापारिक भवन निर्माण गर्न हरिवन नगरपालिकाले रु १३ करोड ८६ लाख ७७ हजार तीन सय ४८ खर्च गरेको थियो।
उक्त व्यापारिक भवनमा एक सय ४६ वटा सटर भएपनि नगरपालिकाको वेवास्थाका कारण प्रयोगमा नआउँदै जीर्ण बनेको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले बताए ।उनका अनुसार भवनमा पानी,बिजुली र शौचालयको उचित व्यवस्थापन नहुँदा व्यापारी बस्न सकेको अवस्था नहुँदा भवन प्रयोगमा आउन नसकेको हो ।
भवनलाई व्यवस्थित गरिदिन नगरपालिका कार्यालयलाई कैयौँ पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनको आरोप छ। “भवनमा नगरपालिकाले जति भाडादर कायम गरे पनि व्यापारी बस्न त तयार नै छन् तर पहिले त्यसलाई व्यवस्थित पारिदिनु पर्छरु।”बजारको व्यापारिक भवनका आधा सटर भाडामा लागिसकेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले दाबी गरे। उनका अनुसार भवन बन्दा नै अव्यस्थित किसिमले निर्माण भएकाले पनि भाडा लाग्न गाह्रो परेको हो।भवन निर्माण हुनासाथ कोरोना भाइरसको महामारी सुरु भई अर्थतन्त्र शिथिल भएपछि समस्या पैदा भएको नगरप्रमुख बुढाथोकीले बताए।“आधासरो सटरहरु त भाडा लागेका छन्,बाँकी कोठा पनि भाडा लगाउन प्रयासरत नै छौँ।”नगर प्रम्ुख बुढाथोकीले बताए ।
लालबन्दी र हरिवन नगरपालिका बाहेक जिल्लाको हरिपुर,ईश्वरपुर,बरहथवा र मलंगवा नगरपालिका लगायतका पालिकाहरुमा निर्माण गरिएका व्यापारिक तथा अन्य प्रयोजनका लागि भनी निर्माण गरिएका भवन पनि प्रयोगविहीन रहेका छन्।जथाभाबी बजेट खर्चिएर भवन निर्माण गर्ने अनि अलपत्र छाड्ने प्रवृत्ति मौलाउँदै गएको स्थानीय जानकारहरु बताउँछन्।पहुँचका आधारमा बजेट ल्याएर भवन निर्माण गर्ने तर प्रयोग गर्नेतर्फ उचित ध्यान नदिने प्रवृत्ति रहेको उनीहरुको भनाइ छ।“यो पनि एक प्रकारको अनियमितता नै हो,यसरी जथाभावी भवन बनाएर प्रयोगमै नल्याउने प्रवृत्तिको अन्त्य हुन जरुरी छ। नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए ।
आवश्यक भएका ठाउँमा भवन नभएर सेवा दिनै अप्ठ्यारो परिरहेको हुने तर करोडौँ खर्चिएर बनाइएका भवन भने प्रयोगमा आउनु पहिलै जीर्ण बनेको प्रति उनले चिन्ता व्यक्त गरे।धेरै ठाउँमा कक्षाकोठाको अभावमा विद्यार्थीहरुले पढ्न नपाएको र स्वास्थ्य संस्था साँघुरो भवनबाट सञ्चालन भइरहेका भए पनि बजेट सक्नकै लागि जथाभावी व्यापारिक तथा अन्य प्रयोजनका भवन बनाएर छाड्ने परिपाटी विकास भएको स्थानीयको भनाई छ । 

सम्बन्धित समाचार