मधेश प्रदेशका ८ जिल्लामा गठबन्धमा सहमती जुट्न सकेन,नेताहरुको दौडधुप जारी

1.6k Shares

मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि मधेश प्रदेशका ८  जिल्लामा गठबन्धमा सहमती जुट्न सकेको छैन । मधेश प्रदेशका जिल्लाका कतिपय निर्वाचन क्षेत्रहरुमा तीन दलकै दाबी कायम रहेका कारण दलहरुवीच सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । 
मधेश प्रदेशका ८ जिल्लामा ३२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् भने ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । मधेश प्रदेशको सप्तरी,सिरहा,धनुषा,महोतरी,सर्लाही,रौतहट,बारा  र पर्सामा चार÷चार प्रतिनिधि सभा निर्वाचन क्षेत्र र आठ/आठ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी(जसपा)को दाबी छ भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ जनता समाजवादी पार्टी(जसपा)तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ नेपाली काँग्रेसले लिने सहमति भएको छ । सिरहाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस र प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा जनता समाजवादी पार्टी(जसपा)लाई दिन दलहरु सहमत छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी(जसपा) र नेकपा(एकीकृत समाजवादी)तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)को दाबी रहेको छ ।
धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा नेकपा(माओवादी केन्द्र) र जनता समाजावादी पार्टी(जसपा), प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी(जसपा) दुबैको दाबी छ भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा नेपाली काँग्रेसलाई छाड्न दलहरु सहमत भएका छन् । 
त्यसैगरी महोत्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा नेकपा(माओवादी केन्द्र),प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेस, प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा जनता समाजवादी पार्टी( जसपा)को भागमा पर्ने पक्का जस्तै भएको छ । र प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा पनि जनता समाजवादी पार्टी(जसपा),नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)को दाबी कायमै छ ।
सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा जनता समाजवादी पार्टी(जसपा)र नेपाली काँग्रेस,प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेस,नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)को दाबी छ भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा नेकपा(माओवादी केन्द्र)र नेपाली काँग्रेसको दावी छ । त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा नेपाली कांग्रेसले पाउने सम्भावना छ ।
रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा नेपाली काँग्रेसको मात्र दाबी छ । बाँकी प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र  ३ मा तीन–तीन दलको दाबी छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेस,नेकपा(माओवादी केन्द्र)र जनता समाजवादी(जसपा)को दाबी छ भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेस,नेकपा(एकीकृत समाजवादी) र नेकपा(माओवादी केन्द्र)को दाबी रहेको नेताहरुले बताएका छन् ।
बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र  १ मा नेपाली काँग्रेस, प्रतिनिधि सभा निर्वाचन क्षेत्र  २ मा जनता समाजवादी पार्टी(जसपा)ले लिने सहमति भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र  ३ मा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी(जसपा)तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र  ४ मा नेकपा(माओवादी केन्द्र)सँगै नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा)को पनि दाबी छ । पर्सामा नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र १, प्रतिनिधि सभा निर्वाचन क्षेत्र  २ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा दाबी गरेको छ भने जनता समाजवादी पार्टी(जसपा)ले ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा दाबी गरेको छ । नेकपा(माओवादी केन्द्र)र नेकपा(एकीकृत समाजवादी)का नेताहरुले भने प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।
आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले गठबन्धबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका भएपनि उम्मेदवारहरुको सिफारिसको काम सक्नु पर्ने समयावधी सकिनै लाग्दा पनि दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गर्न सहमती जुटाउन सकेका छैनन् । मेरो गोरुको बार्है टक्का गरेका कारण पनि दलहरुले उम्मेदवारहरुको नामावली सिफारिस गर्न नसकेका हुन ।

सम्बन्धित समाचार