सर्लाहीका विभिन्न सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसार पसार नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका चार वटा युनिटका प्रमुखलाई एकै पटक बाहिनी तानिएपछि सुरक्षा संयन्त्र भित्रै तरंग पैदा भएको छ।सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा साँठगाँठ गरेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अवस्थी सहित शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा पोष्ट(बिओपी) मधुवनीका बिओपी पति एवम शसस्त्र प्रहरी निरीक्षक माधव खत्री,बिओपी छतौनाका बिओपी पति एवम शसस्त्र प्रहरी निरीक्षक रविन्द्र कार्की र बिओपी त्रिभुवननगरका बिओपी पति एवम शसस्त्र प्रहरी निरीक्षक नारायण अधिकारी शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिवास तानिएका हुन ।
अहिलेको अवस्थामा पनि सीमा क्षेत्रबाट हुने भन्सार छली कार्यमा संग्लग्न व्यापारीहरुसंग साँठगाँठ गरी अवैध करोबार गर्न सहजता प्रदान गरेको आरोपमा उनीहरुलाई एकैसाथ बाहिनी तानिएको बाहिनी मुख्यालय स्रोतले जनाएको छ।स्रोतका अनुसार सर्लाहीका विभिन्न सीमा नाकाबाट लामो समयदेखि भन्सार छलीका सामान नेपाल भित्रिने गरेको गुनासो बढ्दै आएको थियो।विशेषगरी भारतीय बजारबाट भन्सार नतिरी खाद्यान्न,कपडा,इलेक्ट्रोनिक सामग्री सहित किरानाका सामानहरु नेपाल भित्र्याउने क्रम नरोकिएपछि सम्बन्धित सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठेको थियो।
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले अवैध ओसार पसार तथा चोरी–निकासी नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको भए पनि केही नाकामा तस्करीका गतिविधि निरन्तर देखिनुले स्थानीयस्तरमा असन्तुष्टि बढेको विशेष सूचनाका आधारमा शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति एवम डिआईजी विष्णु भट्टले गरेको गोप्य स्थलगत अनुगमनमा उनीहरु माथि शंका लागेपछि बाहिनी तानिएको स्रोतले जनाएको छ ।
बाहिनी तानिएका गुल्मपति तथा बिओपीपतिहरुको कार्यसम्पादन,सीमा क्षेत्रमा भएका गतिविधि तथा भन्सार छली नियन्त्रणमा अपनाइएको कार्यशैलीबारे आन्तरिक रूपमा जानकारी लिने काम सुरु भएको स्रोतले जनाएको छ।यद्यपि,उनीहरूलाई भन्सार छलीमा प्रत्यक्ष संलग्न भएको पुष्टि भइसकेको छैन।सम्बन्धित अधिकारीहरूमाथि लागेको आरोप तथा आशंकाबारे छानबिनपछि मात्रै वास्तविकता बाहिर आउने बुझिएको छ।सुरक्षा निकायका जिम्मेवार अधिकारीमाथि आरोप लाग्दैमा दोषी ठहर गर्न नमिल्ने भएकाले अनुसन्धानको निष्कर्ष महत्वपूर्ण हुने स्रोतले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणमा सुरक्षाकर्मीको सक्रियता र निष्पक्षता अत्यन्त महत्वपूर्ण हुने गरेको भएपनि सुरक्षाकर्मीहरु कै मिलेमतोमा तस्करी भए त्यसले सीमा सुरक्षाप्रतिको जनविश्वास कमजोर पार्न सक्ने स्थानीय जानकारहरु बताँछन् ।
भन्सार छलीका कारण राज्यले राजस्व गुमाउनुका साथै वैध रूपमा व्यापार गर्ने व्यवसायी समेत मारमा पर्ने गरेका छन्।खुला सीमाको फाइदा उठाउँदै हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकाय,भन्सार कार्यालय र स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक हुने जानकारहरु बताउँछन् ।
नौ वटा बिओपी र दुई वटा गुल्म गरी ११ वटा युनिट सीमा क्षेत्रमा रहेको सर्लाहीका एउटा गुल्मपति र तीनवटा बिओपीपतिहरुलाई एकै पटक बाहिनी तानिएको घटनाले सर्लाहीको सीमा क्षेत्रमा हुने अवैध कारोबारमाथि सुरक्षा निकायको निगरानी थप कडा हुनसक्ने संकेत गरेको छ।सुरक्षा निकायका अधिकारीमाथि प्रश्न उठेको अवस्थामा पारदर्शी र निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कारबाही तथा निर्दोष भए स्पष्ट पार्ने वातावरण बनाउनुपर्ने सरोकारवालाहरूको माग छ।सीमा सुरक्षाको जिम्मेवारीमा रहेका अधिकारीहरुको व्यावसायिक आचरण र जवाफदेहिता माथि उठेका प्रश्नको उचित सम्बोधन हुनु नै घटनाको दीर्घकालीन समाधान हुने देखिन्छ।
तथापी,उनीहरुलाई कार्बाही के हुन्छ ? वा कार्बाही हुन्छ की हुँदैन् ? बा उनीहरु नै फेरी सोही युनिटका प्रमुख भएर फिर्ता हुन्छन् की हुँदैनन् ? भन्ने विषय महत्वपुर्ण छ ।