सर्लाहीको बरहथवा नगरपालिका–१२ स्थित पुरैनियाको सोती खोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ।नयाँरोड मधुवनी जोड्ने हुलाकी सडक अन्तरगत बरहथवा नगरपालिका–१२ पुरैनियाँ स्थित सोती खोलामा २०७६ असोजबाट निर्माण सुरु भएको ३० मिटर लामो पुल करिब सात वर्ष पुग्नै लाग्दा पनि अलपत्र परेको हो।शुभम् निर्माण सेवा जनकपुरले रु चार करोड ८८ लाख ३३ हजार दुई सय ४६ मा २०७६ असोज ९ गतेबाट २०८१ असोज ३० गते निर्माण सक्ने भन्दै ठेक्का सकार गरेकोमा पुलको माथिको भाग मात्रै निर्माण गरेर छाड्दा पुल निर्माण कार्य अलपत्र परेको बरहथवा नगरपालिका–१२ का वडा अध्यक्ष राम जजी राय यादवले बताए ।
सडक विकास बोर्डको रु चार करोड ८८ लाख ३३ हजार दुई सय ४६ मामा ३० मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुलको निर्धारित समयमै निर्माण सक्ने भन्दै शुगम निर्माण सेवा जनकपुरले ठेक्का सकार गरेकोमा स्थानीय सत्य नारायण यादवले आफ्नो जग्गाको आफुले मागे बमोजिमको मुआब्जा नपाउँदा सम्म निर्माण कार्य गर्न नदिने भन्दै निर्माण कार्यमा अवरोध गरेपछि निर्माण कार्य प्रभावित भएको सडक विकास बोर्डका इन्जिनियर रन्जीत राय यादवले बताए ।
उनका अनुसार पुल निर्माणको करिब ८२ प्रतिशत काम सकिएको भएपनि पुलको दुवै तर्फ जोड्न निजी जग्गा परेपछि राज्यको नियम अनुसार मुआब्जा तय भएको भएपनि यादवले उक्त निर्णय अस्वीकार गरेपछि निर्माणको काम प्रभावित भएको हो।जसका कारण सोती खोलामा पुरानो र जीर्ण पुलबाट जोखिमपुर्ण यात्रा गर्न स्थानीय बाध्य भएका छन् ।
पुल निर्माण कार्यमा निर्माण कम्पनी मात्र नभई सरोकारवाला सडक विकास बोर्डपनि गैर जिम्मेवार रहेको स्थानीयको आरोप छ।निर्माण कम्पनी,ठेकेदार र सरकारी निकाय बीच दोषारोपणको खेल चलिरहँदा स्थानीय जनता जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन्।उक्त सडकको पहुँच मार्ग,साइड संरचना तथा अन्य अत्यावश्यक काम पुरा गर्न तर्फ सरोकरावाला लाग्नु पर्नेमा निर्माण कम्पनीलाई धमाधम म्याद थप गर्ने तर्फ केन्द्रीत देखिएको छ ।
स्थानीयवासीका अनुसार निर्माण सुरु भएको चार वर्ष पुग्न लाग्दा पनि पुल नबन्नु स्वयंमा गम्भीर लापरबाही हो।विकासका नाममा जनतालाई सुविधा दिनुपर्ने ठाउँमा उल्टै सास्ती थपिएको उनीहरूको गुनासो छ।विशेषगरी नयाँरोड–मधुवनी सडकखण्ड भएर दैनिक यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरू सबैभन्दा बढी जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।
“पुल कहिले बन्छ भन्ने टुंगो छैन,तर दुःख कहिलेसम्म सहने ?”रोचक त के छ भने परियोजना ढिलो हुनुको कारणबारे सरकारी निकाय र निर्माण पक्षको भनाइ एक–अर्कासँग मेल खाँदैन। सडक विकास बोर्डका अधिकारीहरू र ठेकेदार कम्पनीको ढिलासुस्ती तथा व्यवस्थापकीय कमजोरीका कारण काम समयमै अघि बढ्न नसकेको उनीहरुको दाबी छ ।