हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी,सरोकारवाला निकाय मौन

968 Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिहरु विच राजनीतिक आग्रह पुर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ ।
नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन् । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आएपनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए । उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको भएको पनि एक वर्ष पुरा भएको छ तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्प जस्तै छ । 
राजनीतिक द्वन्द्वका कारण हरिपुर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नगरसभा नै ढिलो भयो । गत मंसिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको  नगर प्रमुख साहले बताए । हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान,प्रहरी चौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिकाको कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीय युवा विरेन्द्र प्रसाद अधिकारीले बताउ ।  
नेपाली कांग्रेस,नेकपा(एमाले),जनता समाजवादी पार्टी(जसपा)नेपाल,नेकपा(माओवादी केन्द्र)सहितका पार्टीहरूले एक सर्वदलीय संघर्ष समिति नै बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनु पर्ने,प्रहरी चौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनु पर्नेलगायतका नौ माग राखेर आन्दोलन गरेको  सर्वदलीय संघर्ष समितिका संयोजक बिकाउ यादवले बताउ । उनका अनुसार माग पुरा गर्न नगरपालिकाले चासो नदिएपछि संघर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत सहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गत चैत १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक यादवले बताए । उनका अनुसार नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको हो ।आर्थिक वर्षको अन्त्य हुनै लागेको र यो समयमा विकासको काम धमाधम गर्नु पर्नेमा नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि विकास निर्माणको काम ठप्प भएको छ । 
चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएपछि चैत २२ गते उपसचिव ध्रुवराज आर्चायलाई हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयमा पठाएको भएपनि उनी आएनन् ।
त्यसपछि शाखा अधिकृत शम्भु प्रसाद यादवलाई बैशाख १४ गते प्रमुख प्रशासकीय अधिकृतमा पठाएर उहाँ बैशाख १७ गते हाजिर भएको एक घण्टामै सरुवा हुनु भयो । त्यसयता रिक्त रहेको सो पदमा बैशाख २४ गते सरकारले निमेष मिश्रलाई सरुवा गर्याे । तर उहाँ विवादका कारण आएनन् । नगरपालिकामा तालाबन्दी जारी रहेको र हाजिर हुने अवस्था नभएकाले नआएको  मिश्रले बताए ।
त्यसपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगरपालिकाको तालाबन्दी खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पटक पटक तालाबन्दी खुलाउने प्रयास गरेको भएपनि सहमती नजुट्दा नगरपालिकमा  लागेको तालाबन्दी जारी रहेको छ ।
ताला खोल्न आफूहरू तयार रहेको भएपनि नगर प्रमुख साह सहितका मानिसहरुको अनावश्यक अडानका कारण त्यो असम्भव भएको संर्घष समितका सदस्य योगनारायण रायले बताए । उनका अनुसार संघर्ष समितिले राखेका माग पुरा गर्ने लिखित प्रतिवद्धता गर्न नगर प्रमुख साह तयार नभएपछि सहमति जुटेको हो ।
यता,नगरप्रमुख साहले नगरको विकासका लागि आफू लागिपरे पनि संघर्ष समितिले अवरोध गरेर काम गर्न नदिएको आरोप लगाए । उनका अनुसार कर्मचारीहरुको तलब र सामाजिक सुरक्षा भत्ता बाहेक अन्य कुनै पनि काम भएको छैन् ।

सम्बन्धित समाचार