बुहारीको कार्यक्रममा छोरा प्रमुख अतिथि

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-३० गते   ५७७ पटक हेरिएको

मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाहीले आर्थिकरूपमा अति विपन्न लालबन्दी नगरपालिकाका पाँच जना महिलाहरूलाई दर खाने सामग्री वितरण गरेको छ ।संस्थाले आर्थिकरूपमा अति विपन्न सावित्री वि.क,अप्सरा वि.क,धनमाया परियार,सुकुमाया सार्की र रविना परियारलाई घ्यू,चामल,चिनी,दाल,बिस्कुट र जुस लगायतका दर खाने सामग्री वितरण गरेको संस्थाकी जिल्ला संयोजक सानुमाया पाख्रिनले जानकारी दिइन् ।

उनका अनुसार दाईजो प्रथा,बहु बिवाह र बाल बिवाह तथा महिला माथी हुने घरायसी तथा सामाजिक विभेद्का विरुद्ध काम गर्ने संस्थाले हरि तालिका तीज विशेष कार्यक्रम मार्फत नगरका अति विपन्न महिलाहरुका लागि थोरै भएपनि राहत मिलोस भनेर दर खाने सामाग्री वितरण गरेको हो ।तीजमा गरिने क्रियाकलापहरुले संस्कृतिको सम्र्बद्धन र महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने साथै धर्म संस्कृति माथि क्रिस्चियनहरूबाट प्रहार भईरदा संस्कृति र परम्परालाई जोगाउन यस्ता कार्यक्रमहरुले महत्वपुर्ण रहेको कार्यक्रमका प्रमुख अतिथि एवम इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।

उनले जिल्लाको दक्षिणी क्षेत्रमा विकराल बन्दै गएको छोरीको पहिचान गरि गर्भपतन गराउने समस्याको समाधानको लागि मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाहीले काम गर्नुपर्ने र त्यसका लागि आफुले सकेको सहयोग गर्ने बताए ।परापूर्वकाल देखि चल्दै आएको धर्म संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले बताइन् ।हाम्रा सांस्कृतिक चाडपर्व धेरै भएकाले चाडपर्व  मनाउन परिवारका अभिभावकहरूलाई धौधौ पर्ने भएकाले आर्थिक मन्दीलाई समेत  मध्यनजर गर्दै चाडपर्व  मनाउन महिला नेतृ राधा भण्डारीले आग्रह गरिन् ।
व्रत बसेर पतिको लामो आयुको कामना गर्ने भन्दा पनि पतिलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन ध्यान दिनुपर्ने मेची महाकाली बुहारी संयुक्त आवाज बागमती नगरपालिका उपशाखाकी संयोजक शर्मिला बानियाँले बताइन् ।सर्लाही सहित ५६ वटा जिल्लामा गठन भएको संस्थाले घर परिवारमा सुख शान्ति र समृद्धि ल्याउन काम गरिरहेको संस्थाकी सर्लाही संयोजक पाख्रिङले बताइन् ।संस्थाकी सर्लाही संयोजक पाख्रिङको अध्यक्षता एवम इश्वरपुर नगरपालिकाका नगर प्मुख आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech