सर्लाहीको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफुखुसी गाउँपालिका चलाउन खोजेका गाउँपालिकाकी उपा अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरुले आपती जनाएका छन् ।स्थानीय तहको निर्वाचनपछि विकासको गतिले फड्को मार्ने अपेक्षा गरिएको भएपनि लामो समयदेखि कर्माचारी तन्त्रले चलाएको स्थानीय तह अहिले पनि पुरानै शैलीमा सञ्चालन भई रहेको भन्दे गाउँपालिका उपा अध्यक्ष गीता देवी महतो सहित १२ जना कार्यापालिका सदस्यहरुले आपती जनाएका हुन ।
गाउँपालिका अध्यक्ष राम कुमार महतो र उपा अध्यक्ष गीतादेवी पक्षवीच लामो समयदेखि उत्पन्न भएको विवादका कारण गाउँपालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउन सकेको छैन् भने गाउंपालिकाको विकास निर्माणको काम प्रभावित भएको छ ।आफुहरुले नै जिताएर पठाएको जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्थानीयको गुनासो छ ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले भोट माग्ने बेलामा अनेक किसिमका योजनाहरु पूरा गरेर देखाउने आश्वासन दिए पनि जितेर गएपछि जनताले विकास र परिवर्तनको अनुभूति पाउने गरी काम नगरेको उपा अध्यक्ष गीतादेवी समुहको आरोप छ ।चन्द्रनगर गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरु आएको करिब डेढ वर्ष हुनै लागेको भएपनि विकास निर्माणका काम,नागरिकहरुका मौलिक र नैसर्गीक अधिकारका क्षेत्रमा कुनै काम नभएको स्थानीयको भनाई छ ।
चन्द्रनगर गाउँपालिकाका ७ वटा मध्य ५ जना वडा अध्यक्षहरु र कार्यपालिका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष महतोले मनोमानी र एकलौटी ढंगले काम गरेको आरोप लगाएका छन्। गाउँपालिका अध्यक्ष महतोले गाउँ परिषद नै नगरि आफुहरूको सहमति र निर्णय बिना नै आफुखुसी निर्णय गरि आसेपासेका मानिसहरुलाई राखेर उपभोक्ता समिति बनाएर काम गरेको ७ वटा वडाहरु रहेको चन्द्रनगर गाउँपालिकाका ५ वटा वडा अध्यक्ष तथा १५ जना कार्यपालिका सदस्यहरू मध्य १२ जना कार्यापालिका सदस्यहरुको आरोप छ ।
अध्यक्ष महतोको एकलौटी रवैयाका कारण चन्द्रनगर गाउँपालिकाका ५ वटा वडा अध्यक्ष तथा १५ जना कार्यपालिका सदस्यहरू मध्य १२ जना कार्यापालिका सदस्यहरुसँग मात्र नभइ कर्मचारीहरुसँग समेत कुरा नमिलेको गाउँपालिका उपाध्यक्ष गिता देवीले बताइन् ।सामाजिक सुरक्षा भत्ता ,विद्यालयमा पुस्तक खरिद गरेको भुक्तानी,विद्यालयमा खुवाइने दिवा खाजा वापतको रकमको भुक्तानी रोकिएको छ । गाउँपालिका उपा अध्यक्ष गीतादेवीका अनुसार गाउँपालिकाले गाउँ परिषद गर्न नसक्दा शिक्षकहरु तथा कर्मचारीहरुले चालु आर्थिक वर्षको ३ महिनादेखि तलब भत्ता समेत खान पाएका छ्रैनन् ।
चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा महतो निर्वाचित भएर आएदेखि विगतमा तयार भएका गाउँपालिकाका योजनाहरु पनि बिचमै रोकिएका छन् ।सर्लाहीको धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेको ५२ बिगहा क्षेत्रफलको नाढीमन ताललाई पनि अध्यक्ष महतोले सौन्दर्यिकरणको नाममा पुरै सुकाएर चन्द्रनगरको पहिचान मेटाउन खोजेको स्थानीयहरुको आरोप छ ।
वर्षौंदेखि अतिक्रमणको सिकार बन्दै आएको नाढीमन तालको क्षेत्रफल क्रमिक रुपमा घट्दै गएकोले नाम मात्रको ५२ विघाको नाडीमन ताल भएको स्थानीयको भनाई छ। ताल पुरै सुकाइएकोले छठ पुजा कहाँ गर्ने भनेर स्थानीय महिलाहरु चिन्तीत छन् ।गाउँपालिका अध्यक्ष महतोले आफ्नो नातागोता र कार्यकर्ताहरुलाई करारमा नियुक्ति गरेर पालिकालाई आफ्नो मुठ्ठीमा पारेर मनपरि ढंगले चलाइरहेको विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् ।अध्यक्ष महतोको देखासिखी गर्दै उनी निकटका वडाअध्यक्षहरुले पनि आफ्ना नातागोता र आसेपासेलाई करारमा भर्ना गरेको स्थानीयले बताए ।
विकास निर्माणको नाममा अध्यक्ष महतोले आर्थिक अनियमितता गर्दै आएको समेत बहुमत कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् ।आर्थिक वर्ष २०७९/०८० मा कुनैपनि योजनाहरुमा काम नभए पनि मन्त्रालयलाई बुझाएको आर्थिक प्रतिवेदनमा भने काम भइसकेको देखाइएको उनीहरुको भनाई छ। प्रतिवेदनमा काम सम्पन्न भइसकेको भनि उल्लेख भएका योजनाहरुको अनुगमन गरेर यकिन गर्न स्थानीयले सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन् ।