सर्लाहीको बरहथवा घटनालाई लिएर आईतबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमती जुटेको छ ।बरहथवा नगरपालिका ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैयाको बनाउने र सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जयशंकर प्रसाद साहको नामबाट नामाकरण गर्ने,मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमती भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवम प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख सहित घटनाका पीडित पक्षहरु मधेश प्रदेश सरकारका अर्थ मन्त्री संजय कुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाल सिंहका साथै बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालका साथै सर्व दलिय प्रतिनिधिहरु र सरोकावाला व्यक्तिहरुको उपस्थितिमा गृह मन्त्रालयद्वारा गठित छानविन समितिलाई सबै पक्षले आ–आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानविन गर्न सहयोग गर्ने,पीडितको आश्रित परिवारका एक जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने,प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानून बमोजिम प्रक्रिया पुरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने,अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरपालीकाकी नगर प्रमुख कटुवाल र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको सहकार्य एवम छलफलबाट टुंग्याउने,अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक साहको शालिक स्थापना गर्ने र उद्योग वाणिज्य संघ बरहथवा सहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरु स्थगित गर्ने साथै विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्ति पूर्वक संचालनको लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने लगायतका विषयमा छलफल पछि सहमती भएको हो ।
त्यसैगरी मृतकको संम्झनामा उनको नामबाट प्रक्रिया पुयाई प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने,दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउने, मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना,सवारी साधन लगायत सम्पत्तिको क्षतिको मूल्यांकन गरी सम्बन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने र मृतक साहको पार्थिव शरीरलाई तत्काल व्यवस्थापन गरी पोस्टमार्टम पश्चात आफन्तलाई बुझाउने लगायतका विषयमा सहमती भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।
उनका अनुसार पुस २० गते शुक्रबार बरहथवा नगरपालिका ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शन पश्चात सृजित समस्या समाधान गर्ने सन्दर्भमा बृहत छलफल पछि सो सहमती भएको हो ।बरहथवा नगरपालिका ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोउन्नती गरी प्रादेशिक अस्पताल बनाउने र नबनाउने विषयमा विवाद भएपछि भएको प्रदर्शनको क्रममा पुस २० गते शुक्रबार बरहथवा नगरपालिका ६ का साहको प्रहरीले चलाएको गोली लागि घटनास्थल मै ज्यान गएको थियो ।सहमतीपछि साहको शव आईतबार नै घटनास्थलबाट उठाएर पोष्ट मार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।