सर्लाहीमा बिहीबार दुर्गा पूजाको भव्य कलशयात्रा निकालिएको छ।नवरात्रभर जिल्लाका विभिन्न स्थानमा दुर्गा पूजा हुने भएको र नेपालीहरुको महान चाड बडा दशैँको पहिलो दिन नवरात्र अर्थात घटस्थापनाको दिन बिहीबार नजिकका खोला,नदी,नहरलगायतका जलाशयबाट जल उठाएर कलशयात्रा निकालिएको हो ।११ वटा नगरपालिका र नौ वडा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीका सबै पालिकाहरुमा गाउँलेहरु सामेल भएर भव्य कलश यात्रा गरेका हुन।दुर्गा पूजा र कलश यात्रालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश स्थानहरुमा कडा सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
सदरमुकाम मलंगवामा बिहीबार नकालिएको कलश यात्रामा सुरक्षाका लागि प्रहरी नायव उपरिक्षकको कमाण्डमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।जिल्लाका सबै ठाउँमा शान्तपूर्वक दुर्गा पूजाको कलश यात्रा निकालिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।यसैबिच,प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीबारबाट सुरु भएको छ ।बडादशैंको पहिलो दिन बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ।बिहीबारदेखि वसन्तपुरस्थित दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ भएको छ ।
बिहीबार बिहान नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ अर्थात यव रोप्ने गरिन्छ।जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले बिहीबार यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने परम्परा रहेको छ ।
परम्परा अनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैं घरमा बिहीबारदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ।देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेष अनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन रहेको छ ।बिहीबारका दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले बिहीबार अर्थात आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भन्ने गरिएको धर्मविद्धहरुले बताएका छन् ।