सिन्धुलीको कमलामाई नगरपालिकाले लामो समयदेखि जीर्ण अवस्थामा रहेको सिन्धुलीमाढी स्थित स्टल बजारको भवन हटाउने निर्णयविरुद्ध दायर रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि उक्त संरचना हटाउने प्रक्रिया अगाडि बढ्ने भएको छ ।अदालतको पछिल्लो आदेशसँगै कमलामाई नगरपालिकालाई भवन भत्काउने कार्य अघि बढाउन कानुनी अवरोध हटेको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार स्टल बजार हटाउने नगरपालिकाको निर्णयविरुद्ध स्थानीय राजकुमार श्रेष्ठसहित ११ जनाले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेकामा उक्त निवेदन उपर सोमवार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र नारायण प्रसाद सुवेदीको संयुक्त इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको भन्दै निवेदनकर्ताको माग अनुसारको रोक आदेश दिन अस्वीकार गरेको हो ।
अदालतको आदेशसँगै नगरपालिकाले जोखिमपूर्ण संरचना व्यवस्थापन सम्बन्धी आफ्नो निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ भने बजार क्षेत्रमा रहेका व्यवसायीहरूले पनि आफ्ना सटर खाली गर्न बिकल्पको खोजि सुरु गरेका कमलामाई नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाको स्वामित्वमा रहेको उक्त स्टल बजार २०४६ साल देखि स्थानीय व्यापारिक गतिविधिको केन्द्रका रूपमा परिचित रहँदै आएको थियो।बजार परिसरमा सञ्चालन हुँदै आएका साना तथा मझौला व्यवसायहरूले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएका थिए।तर समयक्रमसँगै भवनको भौतिक अवस्था कमजोर बन्दै जाँदा यसको सुरक्षामाथि प्रश्न उठ्न थालेपछि सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै भवन हटाउने निर्णय गरिएको कमलामाई नगरपालिकाकी उप प्रमुख मञ्जु देवकोटाले बताईन् ।उनका अनुसार विशेषगरी २०७२ को विनाशकारी भूकम्पपछि प्राविधिक परीक्षणका आधारमा उक्त भवनलाई जोखिमयुक्त संरचनाका रूपमा वर्गीकरण गरिएको र “रातो स्टिकर”टाँसेर प्रयोग नगर्न सुझाव दिएको थियो।यद्यपि वैकल्पिक व्यवस्थापनको चुनौतीका कारण भवनमा व्यापारिक गतिविधि भने निरन्तर सञ्चालन हुँदै आएको थियो ।
भवनको वर्तमान अवस्था सार्वजनिक प्रयोगका लागि सुरक्षित नरहेको निष्कर्ष प्राविधिक अध्ययनबाट समेत पुष्टि भएको पछि कुनै सम्भावित दुर्घटनाबाट जनधनको क्षति हुन नदिन तथा नागरिक सुरक्षालाई सुनिश्चित गर्न संरचना हटाउने निर्णय गरिएको कमालमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए ।उनका अनुसार
“भवन निकै पुरानो र कमजोर अवस्थामा रहेका साथै प्राविधिक मूल्यांकनले समेत यसलाई प्रयोग योग्य नरहेको देखाएपछि“सार्वजनिक सुरक्षाभन्दा ठूलो विषय अरू हुन नसक्ने भएकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरिएको हो ।”अदालतको आदेश सार्वजनिक भएसँगै स्टल बजारभित्र रहेका व्यवसायीहरूले आफ्नो सामान तथा व्यापारिक सामाग्री अन्यत्र सार्ने तयारी गर्दै छन् भने केही व्यवसायीहरुले कमलामाई नगरपालिकासँग वैकल्पिक व्यवस्थापनको माग राख्दै आएका छन्।