सरकारसंग अनुमति नलिई दर्जनौ अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरु मधेशमा काम गर्दै

386 Shares

मधेश प्रदेशमा केही अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरु प्रचलित नियम कानुन बमोजिम अनुमती नलिइ सञ्चालनमा रहेका पाइएको छ।प्रदेशका विभिन्न जिल्लाहरुका पालिकाहरुमा साझेदारीमा कार्यक्रम संचालन गर्दै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुले नेपाल सरकारको प्रचलित नियम कानूनको पालना नगरी आफुखुसी कार्यक्रमहरु गर्दै आएका पाइएको हो ।
मधेश प्रदेशका आठ जिल्लाका एक सय ३६ वटै स्थानिय तहहरुसंग अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुको सवालका सूचना माग गरिएकोमा सर्लाहीका तीन वटा,महोत्तरीका दुई वटा,धनुषाका दुई वटा,सिरहाको एउटा र सप्तरीका चारवटा स्थानिय तहले मात्र सूचना उपलब्ध गराएका पछि अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुले नेपाल सरकारको प्रचलित नियम कानूनको पालना नगरी आफ्ना कामहरु गरि रहेका रहस्य बाहिरिएको हो ।
द्विपक्षीय वा बहुपक्षिय साझेदार बाहेक समाज कल्याण परीषद्को रेकर्डमा १३ वटा अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले मधेश प्रदेशमा काम गर्ने भन्दै अनुमती लिएका देखीए पनि मधेश प्रदेश सरकारको रेकर्डमा ६६ वटा अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरु कार्यरत रहेका देखिएको छ ।संघीय सरकारको रेकर्डमा नरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरु मधेश प्रदेशमा कार्यरत रहेको स्थानिय तहबाट प्राप्त सूचनाबाट देखिन्छ।यसबाट नेपाल सरकारको प्रचलित नियम कानूनको पालना नगरी मधेश प्रदेशमा अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुले काम गरि रहेका देखिएको हो ।
कही कतै रेकर्डमा नभएका अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरु पनि निर्धक्क मधेश प्रदेशमा काम गरिरहेका भएपनि सरकार यिनीहरुको नियमनमा बेखबर देखिएको छ ।नियामक निकाय नै बेखबर हँुदा अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुले कहाँ कुन उद्देश्यले के काम गर्दैछन कसैले भन्न सक्ने अवस्था छैन।अझ त्यस्तो गम्भीर बिषयमा समेत सूचना नदिने,गलत सूचना दिएर सूचना लुकाउने स्थानिय तहहरुको प्रबृत्तीमाथि शंका गर्नुपर्ने जानकारहरु बताउँछन् ।
समाज कल्याण ऐन २०४९ को दफा १२ ले सरकारी स्तरमा द्विपक्षीय वा बहुपक्षिय सम्झौताका आधारमा सन्चालित विदेशी नियोग बाहेक अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुले नेपालमा कुनै परियोजना कार्यान्वयन गर्नु परेमा समाज कल्याण परिषद्संग काम गर्न अनुमती माग्नु पर्ने र अनुमती प्राप्त भएपछी बिस्तृत परियोजना पेश गरेर परियोजना स्विकृती भएपछी परीयोजना सम्झौता गरेर मात्र कुनै पनि परियोजना कार्यान्वयन गर्न पाउने व्यवस्था गरेको छ ।
त्यसैगरी समाज कल्याण नियमावली दोस्रो संसोधन २०७१ अनुसार अन्तर्राष्ट्रिय सामाजिक संघ/संस्था वा विदेशी गैर सरकारी संघ/संस्थाले साझेदार संस्था छान्दा जुन जिल्लामा परियोजना सञ्चालन हुने हो त्यही जिल्लामा दर्ता भएका स्वदेशी संघ/संस्था छान्नु पर्नेछ ।यदि परियोजनाको प्रकृति अनुसारका स्वदेशी सामाजिक संघ/संस्था सो जिल्लामा उपलव्ध नभएको खण्डमा छिमेकी एवम जोडिएका जिल्लाहरूवाट साझेदार संस्थाको छनोट गर्नु पर्नेछ।सो नभएमा परिषद् कार्यालयको स्वीकृति लिइ अन्य जिल्लाका संस्थालाई साझेदार संस्था छनोट गर्न सकिनेछ र छनौट भएका साझेदार संघ/संस्थाले समेत समाज कल्याण परिषद्संग परीयोजना संचालनको अनुमती लिनुपर्ने कानुनी व्यवस्था छ ।
तर जिल्लामा सक्षम स्थानिय गैर सरकारी संघ/संस्थाहरु हुँदा हुँदै प्रदेशभरी नै एउटै गैर सरकारी संस्थालाई साझेदार बनाई केही अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाहरुले समाज कल्याण नियमावलीको खिल्ली उडाइ रहेका छन्।अरुलाई सुशासनको पाठ पढाउँदै हिड्ने यस्ता द्वैध चरित्रका गैर सरकारी संघ/संस्थाहरुको कडा निगरानी गर्नुपर्ने समय आएको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार