सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ५५ दलित परिवारलाई न्यानो सिरक वितरण गरिएको छ ।चन्द्रनगर गाउँपालिका ३ र ४ का ५५ दलित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले न्यानो सिरक वितरण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार विगत तीन दिनदेखि जिल्लाका विभिन्न पालिकामा चिसोबाट अति प्रभावित दलित तथा विपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले न्यानो कम्बल तथा सिरक वितरण गर्ने काम गरि रहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतो,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल लगायतको उपस्थितिमा चिसोबाट कठ्याङग्रिएका दलित परिवारलाई कम्बल वितरण गरिएको हो ।समितिले जिल्लाको बलरा नगरपालिका र रामनगर,पर्सा र विष्णु गाउँपालिकाकाका साथै चन्द्रनगर गाउँपालिकाका विपन्न तथा दलिय परिवारहरुलाई चिसो तथा शीतलहरको समयमा थोरै भएपनि राहत पुर्याउने उद्धेश्यले न्यानो सिरक तथा कम्बल वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।उनका अनुसार जिल्लाका पालिकाहरुसंग विपन्न,दलित तथा चिसोले अतिप्रभावित हुने अवस्थाका विपन्न परिवारको विवरण माग गरि सोही अनुसार न्यानो कम्बल तथा सिरक वितरण गरिएको हो ।