सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत चौकीदार ईश्वरपुर नगरपालिका २ राइटरखोरका अन्दाजी ४९ वर्षीय रामइश्वर महतोको टाउँको फेला परेको छ।चौकीदार महत्तोको बीभत्स हत्या गरिएको अवस्थामा शनिबार घाँटीभन्दा तलको भाग फेला परेपछि प्रहरीले लगातार खोजतलास गर्ने क्रममा घटनास्थल भन्दा करिब सय मिटर पर झाडीभित्र उनको टाउँको फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार मृतकको टाउकोसमेत पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा नै लगिएको छ।यसअघि शरीरको अन्य भाग शनिबार मध्यराति अस्पताल लगिएको थियो ।
मृतकको टाउको घटनास्थल नजिक रहेको पोखरीमा फालेको हुन सक्ने आशंकासहित प्रहरीले रामजानकी मठको दुइवटा पोखरीमा जाल हानेर खोजी गरेको भएपनि फेला नपरेपछि खोजी गर्दै जाँदा झाडीभित्र फेला परेको हो।प्रहरीले चौकीदार महतोको हत्यामा संलग्न रहेको आशंकामा इश्वरपुर नगरपालिका २ राइटरखोरकै एक युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिरहेको छ ।
कपडामा रगत लतपतिएको अवस्थामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा बन्चरो फेला पारिएको र सोही बन्चरो प्रयोग गरी चौकीदार महतोको निर्ममतापूर्वक घाँटी छिनाएर हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।
चौकीदार महतो घरबाट निस्किएको नौ घण्टापछि परियोजनाको पलौट क्षेत्रमा टाउको नभएको अवस्थामा शव फेला परेको हो।चौकीदार महतो विगत १२ वर्षभन्दा लामो समयदेखि परियोजनाको चौकीदारको रुपमा काम गर्दै आएकोमा शनिबार कर्तव्य पालनाको शिलशिलामा वन तस्करबाट धारिलो बन्चरोद्वारा घाँटी छुट्याई हत्या गरिएको प्रति नेपाली कम्युनिष्ट पार्टी इश्वरपुर नगर कमिटिले दुःख व्यक्त गरेको छ ।