Close This

बजेट, नीति तथा कार्यक्रममा नयाँपन ल्याउँदै सर्लाहीका स्थानिय निकायहरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१ गते   १४७ पटक हेरिएको

 सर्लाहीका २० वटै स्थानीय निकायहरुले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याइने बजेट नीति तथा कार्यक्रमको तयारी थालेका छन् । संघीय सरकारको बजेट नीति तथा कार्यक्रम आइसकेको छ ।  प्रदेश २ सरकारको प्रदेशसभामा प्रस्तुत हुन भने बाँकी रहेको छ । 
प्रदेशमा सार्वजनिक भएपछि त्यसैलाई आधार मानेर जिल्लाका स्थानीय निकायहरुले आफ्ना बजेट नीति तथा कार्यक्रमलाई पूर्णता दिनेछन् । यतिबेला जिल्लाका सबै स्थानीय निकायलाई बजेट नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्नको चटारो छ ।
समयमै स्थानीय निकायको निर्वाचन भए अर्को बजेट ल्याउनुअगावै अहिलेका जनप्रतिनिधि बिदाइ हुनेछन् । तसर्थ, चुनाव केन्द्रित हँदै अन्तिम बजेट जनताको चाहनाअनुसार ल्याएर मन र मत दुवै जित्ने दाउमा रहेका स्थानीय निकायहरुका जनप्रतिनिधिहरु भर्चुअल माध्यामबाट भए पनि सुझाव संकलनमा जुटेका हुन् । 
१५ असारभित्र स्थानीय निकायहरुले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार तयारी थालेको लालबन्दी नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष तथा सुचना अधिकारी राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र स्थानियबासीको राय,सुझाव संकलनको काम सुरु  गरेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
‘भौतिक पूर्वाधारतर्फ लालबन्दीको काम अग्रपंक्तिमा भएको छ । शिक्षा, स्वास्थ्य र कृषितर्फको योजनालाई समेट्न सुझाव आएको छ’, उहाँले बताउनु भयो । ‘यसैलाई मनन गरेर आगामी वर्षको योजना बनाउँछौँ । जनताको आवाजलाई हामीले सुन्नुपर्छ । यी सुझाव समयसापेक्ष पनि छन् ।’ आगामी वर्षको बजेट टुक्रे योजना र चुनाव केन्द्रित नहुने उहाँको दाबी छ ।
सबै स्थानियबासीहरुलाई सहभागीतामा राय,सुझाव संकलन गर्दै आर्थिक वर्ष २०७८÷०७९ बजेटमा पुर्वाधार विकास मात्र नभई मानविय विकास,नगरबासीको आर्थाेपार्जनका लागि बजेट ल्याउने विषयमा छलफल सुरु गरेको  उहाँले बताउनु भयो । गत वर्षको तुलनामा आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याउने बजेट विषेश जनजीविका र अर्थाेपार्जनको क्षेत्रमा जोड गरेर ल्याउने नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । 
 ‘अघिल्ला वर्षमा कार्यन्वयन भएका अधुरा योजना पहिलो प्राथमिकतामा राख्छौँ । दोस्रो शिक्षा, स्वास्थ्य,कृषि,जीविको पार्जन र अर्थाेपार्जनका लागि रहन्छ भने बाँक िनगरबासीको सुझाव अनुसार बजेट ल्याउछौँ ं,’ नगर प्रमुख खड्काले बताउनु भयो ।
त्यसैगरी हरिवन,बागमती,हरिपुर र इश्वरपुर नगरपालिकाले पनि बजेटमा समेट्नुपर्ने विषयमा राय,सुझाव पेस गर्न नगरबासी समक्ष अनुरोध गरेका छन् । देशकै सबै भन्दा धेरै स्थानिय निकाय रहेको सर्लाहीमा संघीय सरकारले रु २ अर्ब २९ करोड ६१ लाख बजेट  घोषणा गरेको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान स्थानीय निकायलाई हस्तान्तरण गरेको हो । यसवर्षको बजेटमा अघिल्लो वर्षको भन्दा स्पष्ट तरिकाले संघ र प्रदेशको जिम्मेवारी छुट्याइएको छ । बजेटले केही नयाँ र आशलाग्दा योजना पनि ल्याएको छ ।
बजेटमा स्थानीय निकायलाई विशेष स्थान दिइएको छ । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने तथा शिक्षा र स्वास्थ्यमा अधिकतम बजेट खर्च गर्ने सरकारले लक्ष्य लिएको छ । सरकारले बढाएर ल्याएको बजेटको आकारले स्थानीय निकायलाई पनि थप नयाँ कार्य योजना दिइएको छ । 
जिल्लाका २० स्थानीय निकायमा पनि बजेट वित्तीय समानीकरण अनुदान, सशसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारको बजेट दिने घोषणा भएको हो । जिल्लामा यो वर्ष बरथवा नगरपालिकामा सबैभन्दा बढी बजेट विनियोजन भएको छ ।
बरहथवा नगरपालिका रु १७ करोड ९८ लाख बजेट विनियोजन भएको छ । विभिन्न ४ प्रकारका मापदण्डका आधारमा बजेट विनियोजन हुने भएका कारण बरथवाले बढी बजेट पाउन सकेको हो ।
यस्तै, जिल्लाको कौडेना गाउँपालिकालाई रु १० करोड १४ लाख,चक्रघट्टा गाउँपालिकालाई रु १० करोड ४३ लाख,धनकौल गाउँपालिकलाई रु ९ करोड ७९ लाख,पर्सा गाउँपालिकालाई रु ९ करोड १५ लाख,बसवरिया गाउँपालिकालाई रु ९ करोड ४१ लाख,ब्रम्हपुरी गाउँपालिकालाई रु १० करोड ९७ लाख, रामनगर गाउँपालिकालाई रु १० करोड ५३ लाख,विष्णु गाउँपालिकालाई रु १० करोड ५ लाख,चन्द्रनगर गाउँपालिकलाई रु ११ करोड ६९ लाख,लालबन्दी नगरपालिकालाई रु १६ करोड ९८ लाख,हरिवन नगरपालिकालाई रु १४ करोड २८ लाख बजेट विनियोजन भएको छ । 
त्यस्तै,बागमती नगरपालिकालाई रु १३ करोड ५५ लाख,हरिपुर नगरपालिकालाई रु १२ करोड ४३ लाख, ईश्वरपुर नगरपालिकालाई रु १६ करोड ४६ लाख,हरिपुर्वा नगरपालिकालाई रु ११ करोड ७१ लाख,कबिलासी नगरपालिकालाई रु १२ करोड ९९ लाख,बलरा नगरपालिकालाई रु १३ करोड ९२ लाख,गोडौता नगरपालिकालाई रु १४ करोड २ लाख र मलङ्वा नगरपालिकालाई रु १४ करोड ७३ लाख बजेट विनियोजन भएको छ । 
‘संघीय बजेट जनमुखी र सन्तुलित रहेको छ । सरकारले सबै क्षेत्रलाई ध्यानमा राखेर बजेट ल्याएको छ । कार्यान्वयन गर्न स्थानीय सरकारले पहल लिनुपर्छ ।’आगामी आर्थिक वर्षको बजेटबारे लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनुभयो ।
जिल्लाका स्थानिय निकानयका प्रमुखहरुका अनुसार नगरबासी तथा गाउँपालिका बासीहरुलाई जेठ मसान्तसम्म बजेटमा राय,सुझाव दिन स्थानिय निकायहरुले आग्रह गरेका छन् । अघिल्ला वर्षमा जनतालाई भेला गराएर स्थानीय निकायहरुले सुझाव संकलन र योजना माग्ने गरेका भएपनि यस वर्ष विश्वपव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस  संक्रमणलाई लक्षित गरि भिडभाड नगरी राय,सुझाव संकलनको काम सुरु भएको हरिवन नगरपालकाका नगर प्रमुख गणेश प्रसाईले बताउनु भयो । 
आफ्नो कार्यकालको अन्तिम बजेट हुन सक्ने भएकाले कसरी उत्कृष्ट ल्याउन सकिने भन्नेमा जनप्रतिनिधि दबाबमा रहेका छन् । कार्यकर्ता पोस्ने बजेट ल्याउने कि जनताको मत जित्ने खालको भन्नेमा जनप्रतिनिधहरुलाई अप्ठेरो परेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech