७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।प्रजातन्त्र दिवस मूल समारोह समिति सर्लाहीको आयोजनामा बुधवार मलंगवामा प्रभातफेरी,झण्डोत्तोलन,रक्तदान र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख एवम जिल्लास्तरिय प्रजातन्त्र दिवस मूल समारोह समिति सर्लाहीका संयोजक कौशल किशोर सिंहले जानकारी दिए ।
दिवसको अवसरमा तीन दिन सम्म विभिन्न कार्यक्रमहरु तय गरी सोही अनुसार विभिन्न कार्यक्रम गरीएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए।जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख एवम जिल्लास्तरिय प्रजातन्त्र दिवस मूल समारोह समिति सर्लाहीका संयोजक सिंहको अध्यक्षतामा आयोजित प्रजातन्त्र दिवस समारोहमा जिल्लाका सुरक्षा अधिकारी,कार्यालय प्रमुख, जनप्रतिनिधि, कर्मचारीहरु र नागरिक समाज लगायतको विशेष उपस्थिति रहेको थियो ।प्रजातन्त्र दिवसको अवसरमा बुधबार साँझ जिल्लाभर दीप प्रज्वलन गरिएको छ।वि.सं.२००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।