लामो खडेरीपछि परेको वर्षाले सर्लाही सहित मधेश प्रदेशका अधिकांश जिल्लाका किसानहरूलाई ठूलो राहत मिलेको छ।सोमवार दिउँसो परेको झरीले सुक्न थालेको धान बचाएको छ भने बाँकी खेतमा रोपाइँ सुरु गर्ने वातावरण बनेको छ।मधेशका धेरैजसो क्षेत्रमा वर्षाको भरमा खेती गरिँदै आएको छ।गत महिनादेखिको खडेरीले खेत सुक्खा रहेका बेला सोमबारको आकाशे वर्षाले कृषकहरूलाई राहत मिलेको छ ।
सिँचाइको भरपर्दो पूर्वाधारको अभाव रहेको सर्लाहीको ईश्वरपुर,चन्द्रनगर,लालबन्दी, हरिवन,बागमती,हरिपुर र कविलासी लगायतका अधिकांश क्षेत्रमा सोमबार भारी वर्षा भएको र वर्षाले राहत मिलेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशवाहाले बताए।उनका अनुसार सर्लाहीको उत्तर भेगमा विशेष गरी आकाशे वर्षाको भरमा खेती हुने भएकाले खडेरीले धान उत्पादन नै संकटमा परेको थियो।चुरे पहाडबाट बग्ने बाँके,फूलजोर,कालिन्जोर,लखन्देही जस्ता खोलाहरूमा पानीको बहाव बढेको छ। खोला सुक्न थालेको अवस्थामा अहिले पानी चल्न थालेपछि किसानहरू कुलो मार्फत खेतमा पानी लैजान थालेका छन्।
विगत केही वर्षयता सिँचाइका आयोजनाहरू विस्तार भए पनि पर्याप्त नहर प्रणालीको अभाव,बाढीको जोखिम र मोटरपम्प प्रयोग गर्नका लागि बिजुलीको अस्थिरताले मधेशका किसानहरु समस्यामा पर्ने गरेका छन् ।सोमबारको वर्षाले तत्काललाई राहत दिएको र मधेश प्रदेशमा केही दिनदेखि जारी अत्यधिक गर्मी पनि केही घटेको छ।