प्रहरी नायव निरीक्षक यादव सर्लाहीको असारको उत्कृष्ट प्रहरी घोषित

401 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरीक्षक सुभाष यादव असार महिनाको लागि सर्लाहीका उत्कृष्ट प्रहरी घोषित भएका छन्।रु चार करोड ३६ लाख ४२ हजार सात सय ७१ बराबरको भन्सार छलीको विभिन्न किसिमका सामानहरु सहित १० वटा ट्रक नियन्त्रणमा लिएका प्रहरी नायव निरीक्षक यादवलाई  असार महिनाको सर्लाहीको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार प्रहरी नायव निरीक्षक यादवको नेतृत्वको प्रहरी टोलीले ठूलो मात्रामा भन्सार छलीको सामान सहित भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा बालबालिकाको उद्धार र अन्य आपराधिक गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यता,प्रहरी नायव निरीक्षक यादवले प्रहरी संगठनको आचरण विपरित आफैँले विभिन्न मिडियाहरुलाई सूचना दिने गरेका समेत पाइएको छ।प्रहरी संगठनको प्रणाली अनुसार हरेक जिल्ला प्रहरी कार्यालयहरुमा प्रहरी प्रवक्ता एवम सूचना अधिकारी हुने र सूचनाहरु एकद्धार प्रणालीबाट बाहिरिनु पर्नेमा प्रहरी नायव निरीक्षक यादवले आफ्नो काम देखाउँन आफुखुसी सूचनाहरु बाहिर पठाउने गरेका पाइएको छ ।
प्रहरी नायव निरीक्षक यादवले असार २२ गते परालको भुस लोड गरेर ल्याएको ट्रक भित्र लुकाइ राखेको करिब आठ सय २० किलो काजु बरामद गर्दापनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख र प्रहरी प्रवक्तालाई समेत थाहा नदिई आफु राम्रो बन्न विभिन्न मिडियाहरुबाट समाचार प्रकाशन गराएका थिए ।जहाँ उनले आफुलाई प्रहरी नायव उपरिक्षक लेखाएका छन् ।

सम्बन्धित समाचार