मधेशलाई मरुभूमि हुनबाट बचाउन चुरेमा जलसन्चय र भण्डारण गर्नुपर्ने नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताए।मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन गर्न सर्लाहीको लालबन्दी नगरपालिका १५, परवानीपुर स्थित बोहोरेडाँडा आएका एकिकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन ।उनले वर्षा हुँदा अनावश्यक बगेर गइरहेको पानीलाई चुरेमै भण्डारण गर्न सक्नुपर्ने र परेको पानी चुरेमै सन्चय गरेर साख्न सके बगेर समुन्द्र सम्म पुग्ने थिएन,यस विषयमा सरकार गम्भीर भएर योजना बनाउन लाग्नु पर्ने बताए ।
उनले तत्काल मधेशका नागरिकको जीवन बचाउने र सिँचाईको प्रवन्ध मिलाउने कुरामा ध्यान दिन सरकारसँग आग्रह गरे।कोशी प्रदेशको विराटनगरबाट उदयपुर,सिन्धुलीहुँदै सुक्खाग्रस्त मधेश प्रदेशको महोत्तरी र सर्लाहीसम्म आउँदै गर्दा बाटो भरी पानी परेको देखेर खुसी लागेको भन्दै सुक्खाग्रस्त मधेशलाई आगामी दिनमा यस्ता समस्या आउन नदिन तीनै तहको सरकारले तुरुन्त योजना बनाएर अघि बढ्न जरुरी रहेको पूर्व प्रधानमन्त्री नेपालले बताए ।
चुरेक्षेत्रमा पोखरी निर्माण गरेर “वार्टर रिचार्ज”को प्रवन्ध गर्न सकिने पूर्व प्रधानमन्त्री नेपालको सुझाव छ।उनले आफू प्रधानमन्त्री हुँदा नै राष्ट्रपति चुरे संरक्षण योजना अघि सारेको उल्लेख गर्दै सप्तकोशीको पानी सप्तरी, सिरहा,धनुषा,महोत्तरी हुँदै सर्लाहीको बागमती नदीमा ल्याएर खसाल्ने योजना बनाएको भएपनि त्यसपछिका सरकारहरुले उक्त योजना अघि नबढेको गुनासो गरे ।
अहिले सप्तकोशीको पानी १५ प्रतिसत मात्रै डाइभर्ट गरेर सिँचाईमा प्रयोग भइरहेको अवस्थामा सप्तकोशीको पानीलाई बागमतीसम्म ल्याउन सके मधेशमा सिँचाईका लागि अहिलेको जस्तो समस्या नआउने दावी गर्र्दै मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन सरोकारवाला निकाय समयमै सचेत नहुने हो भने अन्नको भण्डार मधेश मरुभूमिकरण हुँदा देशमा खाद्य संकट समेत निम्तन सक्ने पूर्व प्रधानमन्त्री नेपालले संकेत गरे ।
लालबन्दी नगरपालिका १५,परवानीपुर स्थित बोहोरेडाँडामा आफू आएर उद्घाटन गरेको पुष्पलाल स्मृति भवनमा पुष्पलालसँगै गणेशमान सिंह,गिरिजाप्रसाद कोइराला,कृष्णप्रसाद भट्टराई,तुल्सीलाल अमात्य,निर्मल लामा र मधेशका किसान आन्दोलनमा सहादत प्राप्त गरेका सहीदहरुको समेत शालिक निर्माण गर्न सुझाव दिए ।