वर्तमान संविधान बाटै निकास खोज्नु पर्नेमा सिन्धुलीका तीन दल एकमत

334 Shares

सिन्धुलीका तीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस,नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा “जेन जी” पुस्ताद्वारा सञ्चालित आन्दोलनका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।उनीहरूले देशभर फैलिएको आन्दोलनलाई लोकतान्त्रिक अधिकारको अभिव्यक्ति माने पनि हिंसात्मक गतिविधिले जनजीवनमा परेको नकारात्मक प्रभावप्रति गम्भीर आपत्ति जनाएका हुन ।
भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा भएको दोहोरो झडपमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका १ का २६ वर्षीय रोशन न्यौपानेसहित ज्यान गुमाएका नागरिक,आन्दोलनमा सहभागी युवा अभियन्ता र सुरक्षाकर्मीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरिन्छ।साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने नेपाली काँग्रेस सिन्धुलीका सभापति एवम कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल,एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठ र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठले हस्ताक्षरित गरी जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
भदौ २४ गतेदेखि सिन्धुलीसहित देशका विभिन्न स्थानमा सार्वजनिक संरचना,स्थानीय तहका कार्यालय र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीप्रति तीन दलले दुःख प्रकट गर्दै करोडौँको राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति नष्ट हुनु ठूलो क्षति भएको ठहर गरेका छन्।विज्ञप्तीमा आन्दोलनको नाममा हिंसात्मक गतिविधि हुनु कुनै हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार रहन र शान्ति,सदभाव तथा संयमता कायम राख्न आग्रह गरिएको छ ।
यस्तै,विज्ञप्तिमा वर्तमान राजनीतिक संकटको समाधान २०७२ सालको संविधानले तोकेको मर्म, भावना र प्रस्तावना भित्र खोजिनुपर्नेमा जोड उनीहरुले दिएका छन्।देशलाई अन्तर्राष्ट्रिय जगतमा थप विश्वसनीय बनाउन र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा दलहरूले जोड दिएका छन्।विज्ञप्तीमा आगामी राजनीतिक निकासका लागि “जेन जी”पुस्तासँग संवाद र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि विज्ञप्ती मार्फत व्यक्त गरिएको छ ।
यता,लामो संघर्ष र बलिदानी पछि प्राप्त संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ को रक्षाका लागि सबै परिवर्तनशिल शक्तिहरु एक हुन आवश्यक रहेको भन्दे ध्यानाकर्षण स्वरुप पहिलो चरणमा सामान्य र्याली निकालीएको माओवादी केन्द्रका नेता एवम मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिए।उनका अनुसार वर्तमान संविधानलाई केही संसोधन गर्दै कार्यकारी राष्ट्रपतिको पक्षमा माओवादी केन्द्रले अगाडि बढ्ने निर्णय गरी ध्यानाकर्षण गराउन र एकतावद्ध हुन अभियान सुरु गरेको हो ।

सम्बन्धित समाचार