सिन्धुलीको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा –दाहाल)ले कोरोना भाईरस(कोभिड–१९ ) सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न गाउँपालिकावासीको महत्वपूर्ण सहयोगको आवश्यकता रहेका बताउनु भयो ।गाउँपालिकाले साउन ३० गते शुक्रबार राति १२ बजेदेखि भदौ १३ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण क्षेत्रहरु बन्द गर्ने निर्णय पनि गरेको अध्यक्ष दाहालले बताउनु भयो ।
अध्यक्ष दाहालले गाउँपालिकामा रहेका होटल व्यवसायी, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नेपाल रेडक्रस उपशाखा, शिक्षक, महिला, बुद्धिजीवी सबैको स्वास्थ्य सजगता र सचेतताले कोभिड–१९ बिरूद्ध विजय प्राप्त गर्न सकिने बताउनुभयो । कोरोना महामारी व्यवस्थापन, नियन्त्रण र रोकथाम सम्बन्धी छलफलमा कोभिड–१९ बिरुद्धको अभियानमा साथ सहयोगका लागि अध्यक्ष दाहालले गाउँपालिका बासी समक्ष आग्रह गर्नुभयो । बैठकले कोभिड–१९ बाट सतर्क रहन अपनाउनु पर्ने स्वास्थ्य सचेतनाबारे अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अपिल समेत गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिका क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा उच्च सतर्कता अपनाउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम राख्न, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न आग्रह गरेको छ । सो कार्यको अनुगमन स्थानीय सुरक्षा निकायले गर्ने समेत निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।भने गाउँपालिकामा शैक्षिक गतिविधि सञ्चालन हुने छन ।

बैठकले उपलब्ध बैकल्पिक माध्यम मार्फत गाउँपालिकाका विद्यालयमा शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले बैकल्पिक कक्षा सञ्चालनका लागि विद्यालयले व्यवस्था गरेको स्थानमा रही कक्षा सञ्चालन गर्न र आवतजावत नगर्न शिक्षकलाई आग्रह गरेको छ । बैठकले तराई, काठमाडौँ, बनेपा लगायतका उच्च सङ्क्रमित क्षेत्रबाट सुनकोशी गाउँपालिकामा भित्रिने तरकारी तथा उपभोग्य वस्तुको आयातमा रोक लगाएको छ ।