देशभर भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर अभियान र हटाउने सरकारी नीतिविरुद्ध आन्दोलन चर्किँदै जाँदा मुलुकको सामाजिक तथा राजनीतिक वातावरण तनावपूर्ण बन्दै गएको छ।विभिन्न जिल्लामा विरोध प्रदर्शन,नाराबाजी,घेराउ तथा संघर्ष समितिहरू सक्रिय हुन थालि रहेको समयमा सर्र्लाहीमा पनि राज्य र जनताबीचको दूरी खतरनाक रूपमा बढ्न थालेका छ ।
पछिल्लो समय काठमाडौं उपत्यकाका खोला किनार,सार्वजनिक जग्गा तथा सरकारी क्षेत्र खाली गराउने नाममा हजारौँ परिवारमाथि डोजर चलाइएपछि देशभरी नै त्यसको विरोधमा विभिन्न किसिमका आन्दोलनहरु सुरु भएको बेला सर्लाहीका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु आन्दोलीत भएका छन् ।
काठमाण्डौंको थापाथली,मनोहरा,टेकु र बागमती किनारदेखि देशका अन्य सहरसम्म सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनेपछि देशभर असन्तोष फैलिएको समयमा सर्लाहीका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले आयोजना गरेको आन्दोलनको प्रर्दशनलाई सम्बोधन गर्न नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान उप प्रधान एवम गृह मन्त्री नारायण काजी श्रेष्ठ सर्लाही आउँदै छन् ।
सरकारले सार्वजनिक जग्गा संरक्षणलाई आफ्नो दायित्व बताइरहे पनि प्रभावित समुदायले भने आफूहरूमाथि “राज्य आतंक” भएको आरोप लगाउँदै दशकौँदेखि बसोबास गर्दै आएका गरिब जनतालाई वैकल्पिक व्यवस्था बिना सडकमा फाल्ने काम अमानवीय भएको भन्दै सर्लाहीका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु आन्दोलनलित भएका छन् ।
सर्लाही सहित रौतहट,बारा,झापा,बुटवल र पोखरा लगायतका जिल्लामा आन्दोलनहरू दिन प्रतिदिन सशक्त बन्दै गएका छन्। सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुतलीचोकमा प्रदर्शन सहित सुकुम्बासी संघर्ष समिति गठन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
राजनीतिक दलहरूको खुला समर्थनपछि आन्दोलनले थप राजनीतिक रूप लिन थालेको छ। कतिपय नेताहरूले “जनताको आवास अधिकारमाथि हमला गरिए प्रतिरोध स्वाभाविक हुने” चेतावनी दिएका छन्।गरिब,विपन्न र श्रमिक वर्गमाथि राज्यले निरन्तर बल प्रयोग गर्दै गए सामाजिक विस्फोटको खतरा बढ्न सक्छ।बेरोजगारी,महँगी, भ्रष्टाचार र राजनीतिक अविश्वासले थलिएको समाजमा सुकुम्बासी मुद्दा थप संवेदनशील बनेको जानकारहरूको भनाइ छ।
उनीहरुका अनुसार राज्यले संवाद र पुनर्वासको बाटो रोजेन भने परिस्थिति द्वन्द्वतर्फ जान सक्छ। यद्यपि “गृहयुद्ध” जस्ता शब्दहरू अत्यन्त गम्भीर भएकाले त्यसलाई राजनीतिक चेतावनी र सामाजिक असन्तोषको संकेतका रूपमा बुझ्नुपर्ने जानकारहरुको धारणा छ।
यता आन्दोलनरत पक्षहरूले “डोजरको राजनीति बन्द गर”,“पहिले व्यवस्थापन,त्यसपछि हटाउने कुरा गर”जस्ता नारासहित देशव्यापी आन्दोलनको तयारी थालेका छन्।विभिन्न जिल्लामा संघर्ष समिति गठन,संयुक्त मोर्चा निर्माण तथा राजनीतिक समर्थन जुटाउने क्रम तीव्र बनेको छ।देशभर बढ्दो जनआक्रोशले सुकुम्बासी समस्या अब केवल आवासको मुद्दा नभई राजनीतिक असन्तोष,सामाजिक न्याय र राज्यको चरित्रसँग जोडिएको राष्ट्रिय बहसको विषय बनेको देखिन्छ।