सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता हाजिरी जमानीमा छुटेका छन्।उखु उत्पादक किसानहरुको भुक्तानी नदिएको आरोपमा करिब तीन साता पहिला काठमाडौँबाट पक्राउ परेका गुप्तालाई बोलाएको बखत उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार गत माघ÷फागुनमा बिक्री गरेको उखुको भुक्तानी नपाएको भन्दै ५० जना भन्दा बढी उखु उत्पादक किसानहरुले गुप्ताविरुद्ध उजुरी दिएका थिए । अन्नपूर्ण चिनी मिलले उखु क्रसिङ सिजन २०८२÷०८३ मा तीन हजार एक सय ८६ जना उखु उत्पादक किसानहरुसंगबाट खरिद गरेको नौ लाख ९३ हजार सात सय ५२ दशमलव ६७ क्विन्टल उखु क्रसिङ गरेको थियो ।
६१ करोड ६१ लाख २७ हजार छ सय ५५ रुपैँयाँ चार पैसा बराबरको उखु खरिद गरेको उद्योगले किसानलाई करिब रु २२ करोड भुक्तानी दिन बाँकी रहेको छ।केही साताअघि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानविन समितिले समेत अन्नपूर्ण चिनी उद्योग धनकौलबाट उखु उत्पादक किसानहरुले करिब २२ करोड भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन दिएको थियो ।उद्योग प्रशासनले भने अहिले पनि दिनहुँ उखु उत्पादक किसानहरुको भुक्तानी भइरहेको र दशैँअघि किसानहरुको सबै रकम भुक्तानी गरिसक्ने सर्तमा आफूहरु समेतको सहमतिमा उद्योगी गुप्ता छुटेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष श्यामबाबु रायले बताए ।