सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने एक युवकलाई अवैध अनलाइन सट्टेबाजी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।चन्द्रनगर गाउँपालिका–३ घरभई काठमाडौँ महानगरपालिका–३२ बस्ने अन्दाजी २२ वर्षीय बिक्की कुमार महतोलाई रु तीन करोड ३८ लाख भन्दा बढीको अवैध अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबारमा संग्लग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।
प्रहरी परिसरका अनुसार गत असोज २१ गते काठमाडौँ महानगरपालिका–११ माइतीघरस्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा महतोलाई नियन्त्रणमा लिएको हो । उनीमाथि खानतलासी गर्दा “वानएक्सबेट”र “मोबक्यास”जस्ता एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी (जुवा) खेलाएको फेला परेको प्रहरीले जनाएको छ ।
साथै,अनुसन्धानका क्रममा उनले युएसडिटी लगायतका क्रिप्टो करेन्सीको अवैध कारोबारमार्फत हालसम्म तीन करोड ३८ लाख आठ हजार तीन सय ५० रुपैयाँ ९१ पैसा बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।पक्राउ परेका महतोविरुद्ध “अभौतिक मुद्रा र सट्टेबाजी”सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।