जिल्लाका गैर कानूनी निजी स्वास्थ्य संस्था बन्द गर्न अनेरास्ववियुको माग

3.2k Shares

नेपाल कम्युनिष्ट पार्टि(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लामा मापदण्ड विपरित संचालनमा रहेका  निजी स्वास्थ्य संस्थालाई कानूनी कारबाही गर्न माग गरेको छ ।अनुमति विनै सुत्केरीको शल्यक्रिया गर्ने पोलिक्लिनिक सहित मापदण्ड विपरित चलिरहेका स्वास्थ्य संस्थाका संचालकहरुलाई कानून बमोजिक कडा कारबाहीको दायरामा ल्याउन अनेरास्ववियुले माग गरेको हो । 
जिल्ला स्थित निजी स्वास्थ्य संस्थाहरु अनुमति प्राप्त मापदण्डमा सञ्चालन भए नभएको अनुगमन गर्नुपर्ने, सेवाहरुको शुल्क सबै सेवाग्राहीले देख्नेगरी नागरिक वडापत्र राख्न लगाउनुपर्ने, जिल्ला सरकारी अस्पतालमा यथाशिघ्र प्रसुती शल्यक्रिया सूरु गराउनुपर्ने लगायत विभिन्न माग राखेर जारी गरिएको प्रेस विज्ञप्ति अनेरास्ववियु सर्लाहीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाएको छ ।
तीन दिनभित्र माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने प्रेस विज्ञप्तिमा अनेरास्ववियु सर्लाहीले चेतावनी समेत दिएको छ । मलंगवा नगरपालिका–१०, निवासी २४ वर्षीया सहती कुमारीको अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउने क्रममा शल्यक्रिया गरेको चार दिनपछि मृत्यु भएको थियो । भदौ १२ गते मलंगवा नगरपालिका–९, स्थित सो पोलिक्लिनकमा भर्ना गरिएकी सहतीको भदौ १६ गते मंगलबार बिहान मृत्यु भएको थियो । थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको देखाउन पोलिक्लिनिकमै मृत्यु भएपनि हतार हतार सहतीलाई मंगलबार बिहान ३ बजे एम्बुलेन्समा राखेर जबर्जस्ती पठाईएको पीडित पक्षको गुनासो छ ।
सो घटनाको आवश्यक छानविन गरी क्षतिपूर्ति उपलब्ध गराईदिन माग गर्दै मृतक सहतीका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । मृतकको परिवारबाट घटनाबारे छानविन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी परेको प्रमुख जिल्ला अधिकारी पौडेलले  जानकारी दिनु भयो । 
पोलिक्लिनिकमा सामान्य ओपिडी सेवा मात्रै प्रदान गर्ने अनुमति भएपनि डा. सुरेन्द्र कुमार यादवले लामो समयदेखि ‘अप्रेसन थिएटर’ नै खडा गरी शल्यकृया गर्दै आएका पाइएको छ । सुत्केरीको मृत्यु पश्चात दुई दिनअघि डा. यादव स्वयंमले शल्यकृयाको अनुमित नपाएको स्वीकार गरेका छन ।

सम्बन्धित समाचार