Close This

२४ करोड भुक्तानी नगरी उद्योग सञ्चालनको तयारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१४ गते   ३१८ पटक हेरिएको

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।  उखु उत्पादक किसानहरुको  करिब २४ करोड भुक्तानी दिन बाँकी राखेको उद्योग पुन सञ्चालनको तयारीमा रहेको हो ।  यस वर्ष उद्योग समयमै सञ्चालनमा आउने उद्योग प्रशासनले जनाएको छ । उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यस उद्योगले गत सिजनमा उद्योग सञ्चालन नै गर्न सकेको थिएन । भने यस वर्ष सञ्चालनको तयारी गरेको छ ।
यस सिजन सुरु हुनुभन्दा अघि नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी रहेको उद्योगका उखु क्यान म्यानेजर अजित सिंहले बताउनु भयो । हाल उद्योगको मर्मतसम्भारको काम भइरहेको सिंहको भनाई छ ।गत सिजनमा उद्योग सञ्चालन हुन नसकेका कारण उद्योगका मेसिन मर्मतको काम भइरहेको उद्योगको भनाइ छ । आउँदो नोभेम्बरबाट सञ्चालन गर्न सकिने गरी मर्मतसम्भारको काम भइरहेको उद्योगका जिएम टेक्निसियन राजेन्द्र चौधरीले बताउनु भयो ।
उद्योग कहिलेबाट सञ्चालन गर्ने भन्ने एकिन नभएपनि उद्योगका मेसिनरी सामानहरुको मर्मतको काम भइरहेको चौधरीको भनाई छ । उद्योग सञ्चालन गर्न नोभेम्बरबाट सकिने गरी प्राविधिक पक्ष तयार रहेको पनि चौधरीले बताउनु भयो ।“उद्योगको स्टोरमा ५ हजार क्वुन्टल चिनी र १४ हजार क्वुन्टल मोलासिस मौज्दात रहेको छ । उद्योगको केन्द्रीय कार्यालयले अहिले पनि थोरै थोरै गरेर किसानको भुक्तानी गरिरहेको छ ।”स्टोर म्यानेजर एचपी शुक्लाले बताउनु भयो ।उहाँका अनुसार  ‘सबै काम काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट भइरहेको छ,’ ।
भने उद्योगका मजदुरहरुले काम गरे बापतको तलब भुक्तानी नपाएको गुनासो गरेका छन् । सोही उद्योगमा लामो समय काम गरेका राम एकवालले उद्योग बन्द रहेका कारण ज्याला नपाउँदा हातमुख जोर्न समस्या भएको बताउनु भयो । यता उद्योगमा आएको विभिन्न समस्यका कारण उखु उत्पादक किसानहरुसँगै उद्योगका मजदुरको भुक्तानीमा पनि ढिलाइ भएको उद्योग प्रशासनले जनाएको छ । 
गत वर्ष उद्योग नै सञ्चालन हुन नसकेको र किसानको समेत धेरै भुक्तानी गर्न बाँकी भएका कारण मजदुरले पैसा पाउन ढिला भएको उद्योगका क्यान म्यानेजर सिङले बताउनु भयो ।  तर चाँडै भुक्तानी हुने उहाँका भनाई छ ।उद्योगमा ९२ जना मजदुर कार्यरत रहेका छन् । उनीहरूको विभिन्न समयको गरी उद्योगले हालसम्म करिब १८ लाख तलब भुक्तानी गर्न बाँकी राखेको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ । 
यता उखु उत्पालक किसानहरुले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने बताएका छन् । तीन सिजन पहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएका उनीहरू उद्योगप्रति आक्रोशित बनेका छन् । भने किसानको भुक्तानी दिने र उखु क्रसिङ गर्नेभन्दा पनि राज्यले रुग्ण उद्योगका लागि दिने भनेको अनुदानको खेल सुरु भएको हुन सक्ने नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीको आरोप छ ।
लामो समय उखु उत्पादक किसानहरुले संघर्ष गर्दा भुक्तानी गर्न तयार नहुने उद्योगपतिले एक्कासि करोडौँ भुक्तानी गर्ने कुरामा विश्वास गर्न नसकिने अधध्यक्ष मैनालीले बताउनु भयो ।  ‘यो राज्य र उद्योगपति मिलेर एक–अर्कालाई पोस्ने खेल हुन सक्छ,’ ‘होइन भने त्यहाँका किसानहरुको भुक्तानी  अनेक बहानामा रोकेको उद्योगले उखु उत्पादक किसानहरुको भुक्तानी दिने तयारी नगरी किन उद्योग सञ्चालनको तयारी गर्यो ।  ?’ उहाँको भनाई छ ।
 महासंघका अध्यक्ष मैनालीले उद्योगले अझै किसानको २४ करोडको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताउनु भएको छ । उद्योगले किसानको भुक्तानीलगायतको काम केन्द्रीय कार्यालय काठमाडौंबाट भइरहेको बताइरहे पनि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।अन्नपूर्णसहित जिल्लामा तीनवटा चिनी उद्योगहरु रहेका  छन् । त्यसमध्ये गत सिजनमा हरिवन नगरपालिका ११ को इन्दुशंकर चिनी उद्योग  लिमिटेड र महालक्ष्मी चिनी उद्योग बगदह मात्र सञ्चालनमा आएका थिए । देशभरिमै सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो । भने इन्दु शंकर चिनि उद्योग सबै भन्दा भुक्तानी दिने उद्योग हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech