सर्लाहीको मलंगवामा ५७ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।“समृद्ध राष्ट्रको मुल आधार ,सुरक्षा र मुस्कान सहितको बाल अधिकार ” भन्ने मूल नाराका साथ यस वर्षको बाल दिवस मनाइएको हो ।
नेपाल बाल संगठन जिल्ला कार्य समिति सर्लाहीले विगत ३ दिन पहिला देखि मलंगवा नगर भित्रका सरकारी तथा निजी विद्यालयहरु बिच २९ गतेसम्म विभिन्न प्रतियोगिता, प्रभात फेरी तथा अन्तरक्रियाको आयोजना गरि यो दिवस मनाइएको हो । संगठनले मलंगवा नगरपालिका ८ स्थित बाल मन्दिरको सभाहलमा भएको कार्यक्रमको पहिलो दिन २७ गते “कोरोना संक्रमण तथा सावधानीका उपाय“शिर्षकमा चित्रकला, कोरोना संक्रमण कालमा बालबालिकाको अवस्था तथा प्रभावको विषयमा वक्तृत्व कला प्रतियोगिता तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो साथै दिवसको दिन(मंगलबार) नगर भित्रका सबै विद्यालयहरुको सहभागीतामा प्रभात फेरी सहित प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
बाल संगठनका सभापति शमिमबाबु खानको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा चित्रकला तर्फ समूह क बाट सगरमाथा आवासिय आधारभूत विद्यालयका जय साह प्रथम ,पब्लिक मावि मलंगवा नगरपालिका २ की नेहा सर्राफ द्वितीय र ग्रिनलैण्ड उमाविकी निभा यादव तृतीय र समूह ख बाट ग्रिनलैण्डकी लक्ष्मी यादव प्रथम,गडगिफ्टका राजु कुमार साह द्वितीय तथा विद्या सागरकी मन्ती कुमारी साह तृतीय भएकालाई प्रमाणपत्र र मेडल प्रदान गरिएको हो ।
यसैगरी वक्तृत्वकलातर्फ सगरमाथाकी अनुष्का महतो प्रथम,पब्लिक माविकी मेघा कुमारी झा र आधारभुत विद्यालय खुटौनाकी प्रतिमा यादव द्वितीय र साउथ प्वाइन्ट विद्यालयकी संस्कृत संजिवनी तृतीय भएका छन् ।यस्तै हाजरी जवाफ प्रतियोगिता तर्फ सगरमाथाका कविन्द्र यादव र खुसी यादव प्रथम,जनता आधारभुत खुटौनाका मनिष कुमार यादव र पंकज यादव द्वितीय र विद्या सागर विद्यालयका गीता कुमारी र सुप्रदा दास तृतिय भएको आयोजकले बताएको छ । प्रतियोगितामा मलंगवा नगरभित्रका ८ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए ।