वन पैदावार विकास समिति विगत करिब पाँच महिनादेखि नेतृत्व विहिन भएको छ।राजनीतिक नियुक्ती हुने समितिका अध्यक्ष राजदेव यादवले भदौमा राजनीतिक शक्ति समिकरण नमिल्दा राजीनामा दिएपछि सरकारले समितिको अध्यक्ष नियुक्त गर्न नसक्दा समिति नेतृत्व विहिन भएको हो ।समिति नेतृत्व विहिन हुँदा समिति मातहत रहेका सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वन विकास परियोजना केरखा झापा अनिर्णयको बन्दी बनेका छन् ।
सरकार परिवर्तन भएसंगै वन तथा वातावरणले सिफारिस गरी राजनीतिक नियुक्त हुने समितिको अध्यक्ष विगत पाँच महिनादेखि नियुक्त हुन नहुँदा परियोजनाहरुमा आर्थिक व्यावस्थापन र जनशक्ति व्यवस्थापन तथा वार्षिक कार्यक्रमहरु स्वीकृत हुन सकेको छैन् भने परियोजनाको धेरै काम प्रभावित भएको परियोजनाका निमित्त प्रमुख खेमलाल वि.कले बताए ।
उनका अनुसार समिति अध्यक्ष विहिन हुँदा परियोजनाका नीतिगत निर्णयहरु हुन सकेका छैनन् ।परियोजनामा रहेको काठको मुल्य निर्धारण तथा सामायोजन हुन नसक्दा काठ लिलाम बिक्रि हुन सकेको छैन्।जसका कारण परियोजना परिसरमा थन्कीएको काठ कुहिने अवस्थामा पुगेको छ ।यसका साथै उच्चस्तरिय समन्वय हुन नसक्नुका साथै परियोजनाको वन पैदावार उत्पादनको लक्ष्य प्रभावित हुने अवस्थामा पुगेको परियोजनाका निमित्त प्रमुख वि.क.ले बताए ।
यता,समितिलाई वन निगममा लैजानेकी न लैजाने ?प्रदेश सरकार मातहत राख्ने की संघीय सरकार मातहत नै राख्ने भन्ने विषयमा मुद्धाविचारधिन अवस्थामा रहेका कारण समितिको अध्यक्ष नियुक्त हुन नसकेको वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपक कुमार खरालले बताए।उनका अनुसार राजनीतिक नियुक्त हुन सक्ने अवस्था नरहेपनि थप व्ययभार नपर्ने गरी वन तथा वातावरण मन्त्रालयका कुनै कर्मचारीलाई तत्कालका लागि खटाएर भएपनि समितिको समस्या समाधान गर्ने तयारी भई रहेको र चाँडै यो काम हुने छ ।समितिमा अहिले निमित्त कार्यकारी अध्यक्षको रुपमा जितेन्द्र कर्मचार्य रहेका छन् ।