जिल्लाको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनि उद्योगले ट्रेन्च विधिबाट उखु उत्पादक किसानहरुलाई अनुदान दिने भएको छ । उद्योगले गोडैताका उखु उत्पादक किसानहरुका लागि प्रति बिघा रु ४ हजार बराबरको अनुदान दिने भएको हो ।
आर्थिक बर्ष २०७५÷०७६ देखि संचालनमा आएको गोडैता नगरपालिका ५ बगदहमा रहेको उद्योगले ट्रेन्च विधिबाट उखु खेती गर्न किसानहरुलाई सो अनुदान र रासायनिक मल तथा विषादी निशूल्क उपलब्ध गराउने भएको उद्योगले जनाएको छ ।
सामान्य विधिको भन्दा ट्रेंन्च प्रविधिबाट गरिएको उखु खेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने भएपछि उखु उत्पादक किसानहरुले यस विधिलाई अपनाउन थालेका हुन् । ट्रेञ्च विधि भन्नाले आधुनिक हलोको मद्दतले ड्याम बनाएर उखुलाई रोपिने विधि हो । यो प्रविधिमार्फत उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीले समेत असर कम गर्ने कृषि प्राविधिक निरज बुढाथोकीले बताउनु भयो ।
साना साना ड्याम बनाएर त्यो ड्यामकोे बीचको भागमा अन्तरबालीका रूपमा तोरी, आलु, लसुन, मुसुरो, धनियाँ, मटर आदि खेती गर्न सकिने भएकाले किसानले यसबाट अतिरिक्त आम्दानी समेत लिन सक्ने कृषि प्राविधिकहरुको भनाई छ । सामान्य विधिमा उखु लगाउँदा उमारशक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकोमा ट्रेञ्च प्रविधिमा उखु खेती गरिएपछि उखुको उमारशक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको कृषि प्राविधिक विनोद रानाले बताउनु भयो ।
‘यस प्रविधिबाट गरिएको उखु खेतीमा सिचाइँमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको छ ।’ उखु बाँध्न सजिलो, उखु हावाहुरीबाट कम ढल्ने, रोग कीरा कम लाग्ने, उखुमा चिनीको मात्रा अधिक हुने भएकाले तौल समेत बढ्ने हुन्छ । पुरानो विधिबाट किसानहरु २ सय देखि २ सय ५० क्विन्टल उत्पादन गर्दै आएकोमा नयाँ विधिबाट खेती गर्दा प्रति बिघा १५ देखि १६ सय क्विन्टल र कम्तिमा पनि ८ सय क्विन्टल उखु उत्पादन गर्न सकिने कृषि प्राविधिक रानाले बताउनु भयो ।
नयाँ विधि प्रयोग गरी खेती गर्दा प्रति बिघा ४.५ लाख भन्दा बढी आम्दनी गर्न सकिने महालक्ष्मी उद्योगका प्रमुख कार्यकारी निर्देशक कृष्ण प्रसाद दासले बताउनु भयो । शरदकालीन उखु खेती गर्ने किसानहरुलाई बढी उत्पादनका लागि उद्योगले अर्ली वेरायटीको २३८, ११८, ९३०१, ९८०१४ जातको उखु खेती गर्न प्रोत्साहित गर्नुको साथै उखु लिने समयमा कटा हुने गरी उखुको बिउ समेत किसानहरुलाई निःशूल्क उपलब्ध गराउदै आएको उद्योगले जनाएको छ ।
उद्योगबाट प्रत्यक्ष रुपमा ३०० देखि ३५० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा १ हजार जनाले रोजगारी पाएका छन्। चिनि उद्योगलाई मंसिर मशान्तसम्म संचालन गर्ने लक्ष्य अनुसार काम भईरहेकोमा अहिले पनि उद्योगमा नियमित १ सय २९ मजुदुरहरु निरन्तर काममा रहेका उद्योगले जनाएको छ ।
सर्लाहीमा तिनवटा उखु उद्योग भएपछि उद्योगलाई उखुको समेत अभाव हुने गरेको छ । उद्योगको प्रति दिन क्रसिंग क्षमता २४ देखि २५ हजार क्विन्टल रहेकोमा आपुर्ति १५ देखि १६ हजारमा मात्र हुने गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा सर्लाहीमा २६ हजार हेक्टर क्षेत्रफलमा उखु् खेती गरिएको उखु उत्पादक किसान महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताउनु भयो ।
महालक्ष्मी उद्योग अन्तर्गत १५ सय हेक्टर उखु खेती मात्र हुने गरेको छ। सर्लाहीमा उखुको अभाव हुने हुदाँ उद्योगहरु नगदमा भएपनि उद्योग संचालनका लागि भारतबाट उखु आयात गर्न बाध्य हुने गरेका छन् । गत वर्ष महालक्ष्मी उद्योगले ७ लाख क्विन्टल उखु क्रसिंग गरेको थियो ।