सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको इन्दुशंकर चिनी उद्योगले यस सिजनको उखु क्रसिङको काम सुरु गरेको छ । यस सिजनका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानहरुलाई जानकारी पनि गराई सकिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनु भयो । उहाँका अनुसार उद्योगले यो वर्ष २५ लाख क्युन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
गत वर्ष उद्योगले २६ लाख ६७ हजार ९ सय ७१ क्युुन्टल उखु क्रसिङ गरेको उद्योगले दशैँअघि नै उखुउत्पादक किसानहरुको सम्पूर्ण भुक्तानी गरेको थियो। जिल्लामा तीन वटा चिनी उद्योग रहेका भएपनि इन्दु शंकर उखु उत्पादक किसानहरुको भुक्तानी चुक्ता गर्नै एक मात्र उद्योग रहेको उखु प्रवन्धक रजकले बताउनुभयो ।जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानहरुको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिने उखु किसानहरुले बताइरहेका उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनु भयो ।
यी दुवै चिनी उद्योग विरुद्ध जिल्लाका उखु उत्पादक किसानहरुले काठमाडौं आन्दोलन गरिरहेका छन्। गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई ३÷४ वर्षअघिकै भुक्तानी दिन बाँकी राखेको छ । दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यो वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नो तर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको दाबी गर्दै आए पनि किसानहरुले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन्।
उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले यस वर्षका लागि किसानलाई प्रति क्युन्टल उखुको मूल्य रु ५ सय ४४ दिन सिफारिस गरिसकेको छ । यता किसान नेताहरुले भने उक्त मूल्य मान्य नहुने बताउँदै यस वर्ष उखुको मूल्य प्रति क्युन्टल रु ६ सय १७ कायम हुनुपर्ने माग राख्दै आइरहेका छन्।