छिमेकी मुलुक भारतसंग सिमा जोडिएका तराई मधेशका जिल्लाहरुमा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सिमा क्षेत्रका बजारहरुमा सहजै पाउन सकिने साना हतियार अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाईएको छ ।
अबैध हतियार बोकेको नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरुको समुह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले बताउनु भयो । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा अपराधिक गतिबिधीहरु हुने गरेका प्रहरीले अनुमान गरेको छ ।
प्रहरी उपरिक्षक राठौरले खुल्ला सिमा भएकाले खुल्ला सिमानाको प्रयोग गरि अवैध लागु औषध सहजै नेपाली बजारमा आउने गरेको भएपनि यसलाई रोक्ने प्रयास गरि रहेको बताउनु भयो ।“हामीले सिमाक्षेत्रमा निकै कडाई गर्दै आएका छौँ तर पनि खुल्ला सिमाना भएकाले कतै नकतैबाट चोरबाटो हुदैँ अबैध लागु औषध बोकेर नेपाल प्रवेश गर्ने अपराधीक समुह रहेकाले उच्च सर्तकताका साथ खटेर काम गरेका छौँ”उपरिक्षक राठैरले बताउनु भयो ।
सिमा क्षेत्रको भारतीय बजारहरुमा अवैध लागु औषध खुलेआम बिक्रि हुने हुँदा चुनौती बढेको प्रहरी उपरिक्षक राठौरको भनाई छ । जसका कारण दुवै देशका नागरीकलाई सुरक्षा चुनौती बढेको उहाँले बताउनु भयो ।माओबादी द्धन्द्धको समयमा साना हतियारहरुका साथै अवैध लागु औषधको निकै बिगबिगी भएको थियो । त्यस बेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाई छ । हत्या,अपहरण,लुटपाट जस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाई छ ।सुरक्षा अधिकारीहरुकोे सिमा बैठकमा साना हतियार तथा अवैध लागु औषधको विषयमा कुरा उठ्ने गरेको पाईएको छ ।
यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरु समेत सहमत हुँदै आएका छन । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तराई मधेशका सबै जिल्लाहरुको सिमाना खुल्ला रहेका कारण अवैध लागु औषधको ओसार पसार गम्भिर चुनौती भएको बताउनु भयो ।खुल्ला सिमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एक अर्कालाई सहयोग गर्यो भने समस्या समाधानमा सहज हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
लागु औषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेका उहाँका भनाई छ । साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागु औषध ओसार पसार गर्दै आएको पाईएको र खुल्ला सिमानाका कारण जिल्लामा अबैध लागु औषध नियन्त्रण कार्य निकै चुनौती पुर्ण रहेको प्रजिअ पौडेलले बताउनु भयो ।