Close This

शिक्षा र स्वास्थ्य सम्बन्धि अभिभावक शिक्षा कार्यक्रम मरिण गउँपालिकामा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१० गते   ३३२ पटक हेरिएको

सिन्धुलीको मरिण गाउपालिकाले अभिभावक शिक्षा कार्यक्रम सुरु गरेको छ । गाउँपालिका भित्रको शिक्षा र स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी गराउने उदेश्य सहित गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सुरु गरेको हो ।
गाउपालिकाको आफ्ना ७ वटै वडाहरुमा हुने कार्यक्रमको वडा –४ को माध्यमिक विद्यालय मरिण खयरसालबाट उद्घाटन गरेको गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष विर्मस मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो । कार्यक्रममा विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका लागि अभिभावक, शिक्षक, विद्यार्थीहरुको भुमिकाका बारेमा छलफल भएको मोक्तानको भनाई छ ।
कार्यक्रममा बोल्दै मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले शैक्षिक गुणस्तर वृद्धिका लागि निर्वाचित भएर आएकै बर्ष देखि लगानी गरेको बताउनुभयो । गाउँपालिकाबासी सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनका लागि स्वास्थ्य संस्था नभएको ठाउँहरुमा स्वास्थ्य इकाई भवन बनाईएको बताउनुभयो ।
काम प्रति उत्साहित बनाउन २७ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई मासिक रु ३ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाईएको प्रवक्ता मोक्तानको भनाई छ । उहाँले स्थानिय तह, प्रदेश र संघ तिनै निकायको सरकारले शिक्षामा मात्रै बार्षिक झन्डै रु ५ करोड भन्दाबढी लगानी गरिरहेको बताउनुभयो ।
शिक्षाको गुणस्तरका लागि अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुले आ– आफनो भुमिका निभाउनुपर्ने गाउपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले बताउनुभयो ।
कारोना भाईरस(कोभिड १९) बाट बच्दै शैक्षिक क्रियाकलाप संचालन गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताउनुभयो । कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष संगिता माझी, प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेल,वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर स्याङतान  लगायतको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech