यातायात व्यवस्था कार्यालय सर्लाहीको भवन निर्माण कार्य अन्यौलमा परेको छ ।मलंगवा नगरपालिका २ स्थित राम कविर मठको कित्ता नं. २००१ को १० कठ्ठा जग्गा वार्षिक रु एक लाखमा भाडामा लिएर यातायात व्यवस्था कार्यालय सर्लाहीको भवन र कार्यालयसंग सम्बन्धीत संरचना निर्माण गर्ने तयारीमा रहेको अवस्थामा बलरा नगरपालिका ७ डुमरीयाका डा.नवल किशोर सिंहले सर्लाही जिल्ला अदालतमा उजुरी गरेपछि कार्यालय भवन निर्माण गर्ने कार्य अन्यौलमा परेको हो ।
मलंगवा नगरपालिका २ स्थित रहेको राम कविर मठका महन्थ विशेसर राय यादव दाससंग २०८१ फागुन ७ गते सम्झौता गरी वार्षिक रुपमा रु एक लाख मठलाई दिने र उक्त जग्गामा यातायात व्यवस्था कार्यालय सर्लाहीको भवन र कार्यालयसंग सम्बन्धीत संरचना निर्माण गर्न डिपिआर बनाउने तयारीमा रहेको कार्यालय डा.सिंहको उजुरी पछि भवन निर्माण गर्ने की नगर्ने भन्ने विषयमा अन्यौलमा परेको कार्यालय स्रोतको भनाई छ ।
स्रोतका अनुसार मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको रोहबरमा कार्यालयका छविन्द्र बहादुर योञ्जन र मठका महन्थ विशेसर विच मठलाई वार्षिक रु एक लाख दिने सहमती भई सम्झौता गरिएको भएपनि डा.सिंहले आफुले २०६० जेठ ७ गते नै ९९ वर्षका लागि उक्त जमिनमा अस्पताल निर्माण गर्ने भनी वार्षिक रु १६ हजार दिने भन्दै सम्झौता गरेकोले यातायात व्यवस्था कार्यालय मलंगवाको कुनैपनि संरचना बनाउनु नहुने भन्दै जिल्ला अदालत सर्लाहीमा उजुरी गरेका छन् ।
मधेश प्रदेश सरकारको ठूलो राजश्व संकलन गर्ने कार्यालयहरु मध्यको यातायात व्यवस्था कार्यालय नागरिकहरुलाई महत्वपुर्ण सेवा प्रवाह गर्ने सरकारी कार्यालय भएपनि हाल तत्कालीन जिल्ला विकास समिति हालको जिल्ला समन्वय समितिको भवनमा साँघुरो कोठाबाट सेवा प्रवाह गर्न बाध्य भएको अवस्थामा उक्त कार्यालयका लागि भवन निर्माणमा समन्वय गर्नुपर्नेमा उल्टै उजुर बाजुर गरेर बखेडा झिक्ने काम हुनु निन्दनीय कार्य भएको स्थानीय जानकारहरु बताउँछन् ।
मधेश प्रदेशका आठै जिल्लामा स्थापना गरिएका नयाँ कार्यालयहरुका आफ्नै संरचना नहुँदा त्यसमापनि सेवाग्राहीहरुको चाप रहने यातायात कार्यालय साँघुरो भाडाको घरबाट सेवा प्रवाह गरी रहँदा सेवा प्रदायक र सेवाग्राहीहरु दुवैलाई सास्ती हुने भएपनि कार्यालयले सार्वजनिक रुपमा कुनै सूचना नै जारी नगरी मलंगवामा मै कार्यालय राख्ने गरी आन्तरीक रुपमा मलंगवा नगरपालिका २ स्थित राम कविर मठको कित्ता नं. २००१ को १० कठ्ठा जग्गा भाडामा लिनुपनि निन्दनीय कार्य भएको लालबन्दीका स्थानीय जानकारहरु बताउँछन् ।
उनीहरुका अनुसार पुर्व पश्चीम राजमार्ग नजिकै उक्त कार्यालय रहँदा यायाता सम्बन्धी कामहरु गर्न सहज हुने भएपनि र सार्वजनिक रुपमा सूचनाहरु जारी गरेर जग्गा खोजनु हो भने राजमार्ग नजिकै मै जग्गा प्राप्त हुने थियो ।सरकारी कार्यालयहरु सदरमुकाम मै राख्ने नियतका साथ मलंगवामा राखिएको उक्त कार्यालय भाडा मै भएपनि जग्गा लिएर भवन बनाउन लाग्दा समेत मुद्धा मामिला गरेर बखेडा झिकिएको प्रति सरोकारवाला निकायको ध्यानाकर्षण हुनु पर्ने जानकारहरु बताउँछन् ।
पछिल्लो समय विकास हुँदै गरेको लालबन्दी बजारका साथै पुर्व पश्चीम राजमार्ग नजिकै हुनुपर्ने उक्त कार्यालय लालबन्दीका सरोकारवालाहरुलाई जानकारी नगराई मलंगवा लगिएको र भवन निर्माण गर्न जग्गा माग भएको बखत लालबन्दी तथा हरिवन मै जग्गा उपलब्ध हुनेमा कार्यालयले सूचना जारी नगरी मलंगवा मै कार्यालय राख्ने योजना बनाएको प्रति लालबन्दीका स्थानीयले आपत्ती जनाएका छन् ।
उनीहरुका अनुसार सिराहाको लाहान तथा महोत्तरीको बर्दिवासमा जसरी यातायात कार्यालय पुर्व पश्चीम राजमार्ग छेउछाउ मै हुनु पर्नेमा केही नेताहरुले आफने स्वार्थपुर्तिका लागि सदरमुकामको बाहनामा मलंगवा लगेर कार्यालयलाई कोठामा थन्क्याउने काम गरेका छन् ।अहिले पनि यातायात व्यवस्था कार्यालय सर्लाही पुर्व पश्चीम राजमार्गमा आउन चाहेमा जतिसुकै समयमा पनि जग्गा उपलब्ध हुने जानकारहरु बताउँछन् ।तर यातायात व्यवस्था कार्यालय सर्लाही र अन्य सरोकारवाला निकाय उक्त कार्यालय कुनैपनि हालतमा मलंगवा मै राख्ने दाउमा लागेका उनीहरुको आरोप छ ।