Close This

शुक्रबार जिल्लाका दुई सहकारीको साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२५ गते   ३३३ पटक हेरिएको

 सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो  १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले हरिवन नगरपालिका १ स्थित भोक्टेनीमा सञ्चालन गरेको मनोकामना आवासिय विद्यालयको प्राङ्गणमा आफ्नो १५ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षता एवम हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको सहकारीले जनाएको छ । सभामा सहकारीले स्थापनाकालदेखि हालसम्म कुशलतापूर्वक व्यवस्थापकको भूमिका निर्वाह गरेका व्यवस्थापक कृष्णकुमार श्रेष्ठलाई स–सम्मान बिदाई गरेको छ भने बाल बचतकर्ता, असल ऋणी र असल बचतकर्ता एक÷एक जनालाई सम्मान गरेको सहकारीका उपा अध्यक्ष कृष्णओम पोतेले जानकारी दिनु भयो । अघिल्लो आर्थिक वर्षमा झण्डै रु ४० करोड कूल कारोवार गरी रु १ करोड ३२ लाख खूद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराईएको छ ।
साधारण सभामा नगर प्रमुख प्रसाई, उपप्रमुख रेणुका पौडेल, नगरपालिकाको सहकारी विभागका प्रमुख एवम हरिवन नगरपालिका  १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, नेकपाका नेता चूडामणि वाग्ले, तेक्वान्दोका प्रशिक्षक पूर्णबहादुर राना मगर, सहकारी बैंक हरिवन शाखाका प्रमुख सागर सापकोटा,वडा नम्बर १,२,३ र ४ का वडाअध्यक्षहरु लगायत सहकारीका शेयर सदस्यहरु र स्थानिय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
त्यसैगरी सर्लाहीको हरिवन नगरपालिका–९, मा रहेको सगुन शिक्षा सहकारी संस्था लिमिटेडले पनि ७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता एवम प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा संस्थाकै परिसरमा साधारण सभा सम्पन्न गरेको हो । 
सभामा हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाई, उप प्रमुख पौडेल, सल्लाहकार समितिका सदस्यहरु राजकुमार उप्रेती, चूडामणि वाग्ले, सावित्रा बुढाथोकी, सचिव मनोज खनाल लगायत जनप्रतिनिधिहरु र सहकारीका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
सभामा संस्थाको अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को आयव्यय पारित गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरिएको संस्थाका कोषाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech