सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको ईन्दुशंकर चिनी उद्योगले चालू सिजनको भुक्तानी सुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगहरुले वर्षौंदेखिको भुक्तानी नगरि रहेको अवस्थामा इन्दुशंकरले चालु सिजनमै खरिद गरिएको उखुको भुक्तानी सूरु गरेको हो ।
ईन्दुशंकरले गतवर्षको उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानहरुलाई यस वर्षको उखु खरिद गरे वापतको रकम भुक्तानी सुरु गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनु भयो । गत पुष ६ गतेबाट संञ्चालनमा आएको यस उद्योगले ७ लाख २२ हजार क्वुन्टल भन्दा बढी उखु क्रसिङ गरिसकेको उखु प्रवन्धक रजकले बताउनु भयो ।
रजकका अनुसार गत पुष १५ गतेसम्मको उखु खरिद वापतको करिब रु २० करोड बैंक खातामार्फत भुक्तानी भईसकेको र पुष २९ सम्मको भुक्तानी माघ ७ गतेबाट गर्ने तयारी गरिएको उद्योगले जनाएको छ । पहिलो चरणमा १२ करोड रदोस्रो चरणमा ८ करोड भुक्तानी गरि सकेको साथै सो अवधिमा क्रसिङ गरेको उखुको बाँकी भुक्तानी माघ ७ गतेबाट सुरु गर्ने उखु प्रवन्धक रजकले बताउनु भयो । हाल नेपाल सरकारले उखुको मूल्य कायम नगरेको भएपनी गत सालको मुल्यलाई आधार मानेर भुक्तानी सुरु गरिरहेको रजकले बताउनु भयो ।
सरकारले पछि तोकेको मूल्य अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरैँ हुन आएमा वा फरक परेमा थप रकम उखु उत्पादक किसानहरुको खातामा हालिदिने उद्योगका वरिष्ठ प्रशासकिय अधिकृत ठाकुर प्रसाद नेपालले जानकारी दिनु भयो । जिल्लाकै धनकौल स्थित अन्नपूर्ण सुगर मिलले भने गत विगत वर्षकै करोडौं रकम भुक्तानी नगरेको किसानहरुले गुनासो गर्दै आएका छन् ।
त्यस्तै जिल्लाको अर्काे महालक्ष्मी सुगर मिलले भने किसानहरुको भुक्तानी गरिसकेको जनाएको छ । ईन्दुशंकर चिनी उद्योगले भने मुलुकभरका अन्य उद्योगको तुलनामा किसानहरुको भुक्तानी समयमै गर्ने गरेको छ । जो किसानहरुको भुक्तानी बाँकी नराख्ने एकमात्र उद्योगको रुपमा इन्दुशंकर रहेको हो ।