Close This

लक डाउनको मारमा परेका किसानहरु उद्योगबाट पनि पीडित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२२ गते   ५०६ पटक हेरिएको

 लकडाउनको मौकाको फाईदा उठाउदै जिल्लाको अन्नपूर्ण चिनी मिलले गोप्य रुपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानिय किसानहरुले चिनी लोड भएका ४ वटा ट्रक नियन्त्रणमा लिएका छन।
धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानहरुको उखुको भुक्तानी नगरेको भन्दै किसानहरुले चिनी उद्योगबाट चिनी बिक्रि वितरणमा रोक लगाएका थिए । लकडाउनको समयमा नागरिकहरुको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्य रुपमा चिनी लैजान खोज्दा सबै गाउँलेहरु मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानियवासीले बताएका छन ।
उद्योगले किसानहरुको उखुको रकम भुक्तानी गर्न पटक पटक सम्झौता गरेपनि कानुन विपरीत एक रुपया पनि भुक्तानी नगरेको भन्दै किसानहरुले भनी विक्रि वितरणमा रोक लगाएका थिए  । त्यसपछि उद्योगले चिनी बिक्रि वितरण रोकेको थियो । अन्नपूर्ण चिनी उद्योगले वि.स २०७० सालदेखि हालसम्म १२ हजार किसानहरुको करिब ४० करोड रुपैँया भुक्तानी गर्न बाँकी रहेको छ ।


गोडैता नगरपालिका स्थित महालक्ष्मी चिनी उधोगले पनि गत सालको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानिय किसान मुकेश ठाकुरले बताए । यो साल मार्च १ तारिखसम्म संचालनमा रहेको महालक्ष्मीले जनवरी २१ सम्मको किसानहरुको पैसा मात्र भुक्तानी गरेको ठाकुरले बताउनु भयो ।
सरकारले उखु किसानहरुलाई  धोका दिएर किसानहरुले पाउनु पर्ने उखुको अनुदान समेत अहिले सम्म नपठाएको किसानहरुले बताएका छन । चिनी उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहूको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले बताउनुभयो।
भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरुले न्याय नपाएपछि पौषको कठयांग्रियो जाडोमा नांगो खुटा आन्दोलन गर्न काठमाडौँ पुगेका थिए। समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए।
सरकारले उखु किसान तथा उद्योगी बिच सहमति गराउदै किसानहरुलाई आन्दोलन स्थगित गरी पडाएको भएपनि अन्नपूर्णा चिनी उद्योगले सम्झौता विपरीत किसानहरुको भुक्तानी समयमा नगर्दा किसानहरु थप मर्कामा परेका छन। तर किसानहरुले उद्योगको गोदाममा रहेको चिनी बिक्रि वितरण गर्न नदिएका कारण किसानहरुको रकम भुक्तानीमा ढिला भएको अन्नपुर्ण चिनी उधोगका सञ्चालक राकेश अग्रवाल बताउनु भयो । आफ्नो गोदाममा चिनी छ किसानहरुले बेच्न दिदैनन् । अनी कसरी उनिहरुको भुक्तानी गर्न सकिन्छ । अग्रवालले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech