सर्लाहीको हरिवनमा रहेको मालपोत कार्यालय लेखन्दास र कर्मचारीहरुको मिलेमतोमा कमिसन असुलीको अखडा बनेको छ।सेवाग्राहीको काम सहज बनाउन स्थापना गरिएको मालपोत कार्यालय अहिले लेखन्दास र कर्मचारीहरुको मिलेमतोमा कमिसन असुलीको अखडामा परिणत भएको छ।मालपोत कार्यालय हरिवन अगाडि रहेका लेखापढी व्यवसायीहरु र मालपोत कार्यालय हरिवनका कर्मचारीहरुको मिलेमतोमा कार्यालयमा सेवा लिन जाँदा निर्धारित शुल्क भन्दा दोब्बर–तेब्बर रकम बुझाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुको गुनासो छ।
मालपोत कार्यालय हरिवनका सुब्बा देवि चरण न्यौपाने र सुब्बा नविन निरौलाका साथै कार्यालय प्रमुख विष्णु प्रसाद न्यौपानेसंग मालपोत कार्यालय हरिवन बाहिर रहेका २०/२२ वटा लेखापढी व्यवसायी फर्महरुका सञ्चालकहरु तथा कर्मचारीहरुले कमिसनमा मिलेमतो गर्दा सेवाग्राहीहरु मारमा परेका छन् ।
मालपोत कार्यालय अगाडि रहेको चण्डेश्वरी लेखापढी तथा भू संरक्षण केन्द्रका सञ्चालक राम सुन्दर महतो र मालपोत कार्यालय हरिवनका सुब्बा न्यौपाने विच कमिसन लेनदेनमा विवाद भएपछि लेखन्दास र कर्मचारीको मिलेमतोमा मालपोत कार्यालय कमिसन असुलीको अखडा बनेको रहस्य बाहिरिएको हो ।
मालपोत कार्यालय हरिवन बाहिर रहेका २०/२२ वटा लेखापढी व्यवसायी फर्महरुका सञ्चालकहरुले मासिक रुपमा मालपोत कार्यालय हरिवनका सुब्बा न्यौपानेका साथै अर्का निरौलालाई मासिक रु ३० हजारदेखि ५० हजारका दरले कमिसन बुझाउनु पर्ने वा एउटा फाईलको रु एक हजार देखि पाँच हजार सम्म बुझाउनु पर्ने मौखिक सहमती नै हुने गरेको रहस्य बाहिरिएको छ ।
लेखन्दास महत्तोले कार्यालयका सुब्बा न्यौपानेलाई मासिक रु ३० हजारदेखि ५० हजारका दरले पाँच महिनाको एकै पटक रु एक लाख ५० हजार अर्का लेखापढी व्यवसायी राम जीवन साहका सहयोगी सुरुज देव महतोको नाममा नेपाल बैँक लिमिटेडको नाममा चेक नै काटेर कमिसन दिएका पाइएको हो ।
मालपोत कार्यालय हरिवन अगाडि २०/२२ युजर आईडि वितरण गरिएको र उनीहरु सबैसंग मासिक रुपमा प्रति युजर आईडि रु ३० हजारदेखि ५० हजार सम्मका दरले कमिसन लिने दिने मौखिक सम्झौता भएको चण्डेश्वरी लेखापढी तथा भू संरक्षण केन्द्रका सञ्चालक महतोले बताए।यस पटक पनि मासिक कमिसन नदिएको विषयमा आफु र सुब्बा न्यौपाने विच सामान्य विवाद भएको चण्डेश्वरी लेखापढी तथा भू संरक्षण केन्द्रका सञ्चालक महतोले बताए।
मालपोत कार्यालय अगाडि लेखापढी फर्म राखेर लेखन्दासको काम गर्न अन्य कानुनी प्रक्रियाका साथै रु ५० हजार धरौटी रु पाँच हजार सेवा शुल्क राखेपछि युजर आईडी पाईन्छ ।मालपोत कार्यालय हरिवनका सुब्बा न्यौपान र सुब्बा निरौलाले लेखापढी व्यवसायीहरुसंगबाट बैँक मार्फत र विभिन्न माध्यामहरुको प्रयोग गरेर कमिसन असुल्ने र उक्त कमिसन कार्यालय प्रमुख न्यौपानेका साथै विभाग सम्म पनि पुर्याउनु पर्छ भन्ने गरेका पाइएको छ ।सो विषयमा बुझ्दा कार्यालय प्रमुख न्यौपानले आफ्नो कार्यालयका कुनै कर्मचारीहरुले त्यस प्रकारको काम नगरेका र गरेका भए प्रमाण उपलब्ध गराउन भन्दै आफ्ना कर्मचारीहरुको बचाउँ गर्दै घुमाउरो पारामा कमिसन आफुलाई समेत आउने गरेको शंकेत गरे ।
मालपोत कार्यालय हरिवनका तत्कालीन खरिदार पदमा कार्यरत न्यौपाने र लेखनदास केशव बहादुर कार्कीलाई सेवाग्राहीसंग रु एक हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले २०७६ मंसिर ६ गते पक्राउ गरी दुबैजना विरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) अनुसार कारबाहीको माग गर्दै विशेष अदालत,काठमाडौंमा आरोप पत्र दायर गरेको थियो ।
त्यसैगरी,चण्डेश्वरी लेखापढी तथा भू संरक्षण केन्द्रका सञ्चालक महतो र तत्कालीन नायव सुब्बा वेदनिधी बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले २०७७ पुस २३ गते सेवाग्राहीसँग रु. ११ हजार घुस रकम लिएको आरोपमा पक्राउ गरेको थियो।उनीहरूलाई जग्गाधनी प्रमाण पत्रमा नाम संशोधनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरी दुबैजना विरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३(१) अनुसार कारबाहीको माग गर्दै विशेष अदालत,काठमाडौंमा आरोप पत्र दायर गरेको थियो ।केही समय निलम्बनमा परेका उनीहरु हाल सोही धन्दामा सक्रिय भएर लागि परेका छन् ।
भने,मालपोत कार्यालय हरिवन भित्रका कर्मचारी र बाहिरका लेखन्दासहरू बीचको मिलेमतोका कारण कुनै पनि काम सहज रूपमा सम्पादन हुन नसकेको सेवाग्राहीहरुको गुनासो छ।जग्गा नामसारी,धितो राख्ने,मोही कट्टा र नापजाँचलगायतका कामहरूमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने,फाइल हराएको बहाना बनाउने वा साना कमजोरी देखाएर पुनःनिवेदन दिन लगाउने प्रवृत्ति मौलाएको छ।
कमिसन दर अनुसार कामको गति
सेवाग्राहीहरूका अनुसार मालपोत कार्यालय हरिवनमा सिधै गएर काम गराउन सम्भव छैन।काम छिटो गर्न लेखन्दासमार्फत सेटिङ मिलाउनु अनिवार्य छ।जहाँ नामसारी,नापजाँच प्रक्रिया,मोही कट्टा,कित्ता मिलान र ऋणका लागि धितो राख्दा रु एक हजार देखि रु एक लाख सम्म कमिसन बुझाउनु पर्ने बाध्यता छ।मागे जति कमिसन नबुझाए“फाइल अपूर्ण छ भन्दै बारम्बार फर्काउने,नयाँ कागजात आवश्यक पर्ने बहाना बनाउने,अर्को कार्यालयबाट अनुमति लिनुपर्ने बताउने र काम ढिलाइ गरेर सेवाग्राहीलाई हैरान पार्ने”लगायतका काममा कार्यालयका कर्मचारीहरुका साथै लेखन्दासहरु लागि परेका पाईएको छ ।यदि तोकिएको कमिसन बुझाए काम केही दिनमै सम्पन्न हुन्छ भने कमिसन वापतको रकम नबुझाए महिनौंसम्म ढिलाइ गरिन्छ।
विचौलियाको जालोमा फसेका सेवाग्राही
कानुनतःमालपोत कार्यालयहरुका सेवाहरू पारदर्शी रूपमा प्रवाह गर्नुपर्ने भए पनि वास्तविकता फरक छ।कार्यालय बाहिर दलालहरू तथा लेखन्दासहरुको चलखेल व्यापक छ।कर्मचारीहरूसँग मिलेर उनीहरूले सेवाग्राहीबाट असुली गर्ने गरेका छन्।
नियामक निकाय मौन
निरन्तर बढ्दो भ्रष्टाचारको बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य नियामक निकायले गम्भीर कदम नचालेका कारण यो समस्या जटिल बन्दै गएको जानकारहरु बताउँछन् ।सरकारले मालपोत कार्यालय सुधार्न प्रविधि–मैत्री व्यवस्था लागू गर्ने,अनुगमन कडा गर्ने र दोषीमाथि कारबाही प्रक्रिया अगाडि नबढाए सम्म सेवाग्राहीको दुःख नघट्ने उनीहरुको भनाई छ ।मालपोत कार्यालयको काम छिटो,छरितो र पारदर्शी बनाउन आवश्यक सुधार तत्काल हुन आवश्यक छ।
सुधारको आवश्यकता
डिजिटल प्रणाली लागू गरी कर्मचारीको प्रत्यक्ष संलग्नता घटाउने र विचौलियाको प्रवेश निषेध गरी पारदर्शी सेवा प्रवाह गर्ने कार्यमा सरोकारवाला निकाय लाग्नु आवश्यक छ ।साथै अनुगमनलाई प्रभावकारी बनाई भ्रष्ट कर्मचारीहरूलाई कारबाही गर्ने र खुलेआम रुपमा हुने कमिसन असुली तथा घुस/रिसवत असुली कार्य रोक्न सरोकारवाला निकाय सक्रिय र निर्मम भएर लाग्न जरुरी छ ।