Close This

सर्लाहीमा एकसाता निषेधाज्ञा थप,व्यापार व्यावासय दिउँसो २ बजेसम्म खुल्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-८ गते   २८०४ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा जारी निषेधाज्ञा खुकुलो पार्दै थप एक साता लम्ब्याएको छ । असार १४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निर्णय गरेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमण नियन्त्रणमा नआइसकेकाले निषेधाज्ञा थप गर्न स्थानीय प्रशासनलाई सिफारिस गरेको हो । 
निषेधाज्ञा थपिए पनि पहिले भन्दा केही खुकुलो पार्दै लैजाने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामांगले जानकारी दिनु भयो । 
बैठकले विद्यालय, होटल, जिमखाना, सैलुन र सिनेमा हल बाहेक बजारका अन्य व्यापार,व्यवसायहरु दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले जानकारी दिनु भयो । जिल्लामा यसअघि नै मध्यान्ह १२ बजेसम्म बजारहरु खुल्ने गरेका थिए । बैठकमा मालपोत, नापीलगायतका कार्यालय खोल्नुपर्ने आवाज उठेपनि पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा कार्यालयहरु नखोल्न माथिबाटै निर्देशन आएकाले सर्लाहीमा आठ सय बढी सक्रिय संक्रमित रहेकाले तत्कालका लागि कार्यालयहरु नखोलिने प्रमुख जिल्ला अधिकारी तामांगले बताउनु भयो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै जिल्लामा गत बैशाख २५ गतेबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । पटक–पटक थपेर यो सहित सातौं पटक निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा थपिँदै लगेपनि यहाँका सडक, बजारमा मानिस सामान्य अवस्थामा झैँ ओहोरदोहोर गरि रहेका छन् । 
लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलंगवाजस्ता मुख्य बजारमा मध्यान्ह १२ बजेसम्म सबै पसल व्यवसाय खुल्ने गरेका थिए । पूर्व–पश्चिम लोकमार्गसहित अन्य भित्री सडकमा मोटरसाइकल, टेम्पु, म्याजिकजस्ता साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमै रहेका थिए । टाटा सुमो, रात्री बसहरुले समेत संघीय राजधानी काठमाडांैंसम्म यात्रुहरु ओसारपसार गरि रहेका छन् । वीरगन्ज, जनकपुर लगायतका मुख्य सहरहरुमा दिवा बसहरु चलेका छैनन् ।
दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट जिल्लामा सोमबारसम्म २ हजार ३ सय ५० जना संक्रमित भएका छन् । तीमध्ये १ हजार ३ सय ८ जना निको भइसकेका छन् भने ८० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर अहिले ८ सय ८२ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech