शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको भरत ताल आन्तरीक तथा बाह्य पर्यटकहरुको गन्तव्य बनेको छ । निर्माणाधिन अवस्थामा रहेको ताल निर्माण सम्पन्न नहुँदै आन्तरीक तथा बाह्य पर्यटकहरुको गन्तव्य बनेको हो ।
दक्षिण यसिया कै सबै भन्दा ठूलो मानवनिर्मित भरत ताल निर्माणकालागि अहिलेसम्म करि रु ९८ करोड खर्च भएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै एक अर्ब लगानी हुने र मानवनिर्मित भरत ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजनारहेको नगर प्रमुख थापाले बताए ।
बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक पिकनिक ‘स्पट’,जंगल सफारी,शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क,फिल्म सिटीका साथै मिनी क्यासिनोसहितको होटेलसमेतको निर्माण कार्य सुरु भएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘भरत ताललाई बागमती नगरपालिकाकै मुख्य आम्दानीको स्रोतका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर लागेको सथौँ,ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ,।’आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटकीय हब बनाउनुका साथै स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी समेत सृजना हुने साथै नगरको आन्तरीक आयस्रोत बृद्धि हुने नगरपालिकाले विश्वास लिएको छ ।
नगरको बजेट,संंघ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर भरत तालको काम पूरा गर्ने नगर प्रमुख थापाले बताए ।‘भरत तालको काम अहिले २० देखि २५ प्रतिशतसम्म मात्र सम्पन्न भएको छ,‘सौन्दर्यकरण’ लगायतका काम बाँकी छन्,तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीतिमा काम गरि रहेका छौँ ।’ नगर प्रमुख थापाले बताए । पर्यटकीय गन्तव्य भरत तालमा निर्माणाधिन अवस्था मै पर्यटकहरुको घुइचो देखिएको छ । तालमा माछा र हाँस पालनको काम पनि सुरु भएको छ, जसले आम्दानी बढाउन सहयोग पुग्नेछ ।
हालसम्म रु ९८ करोड खर्च
भरत ताल निर्माणमा हालसम्म रु ९८ करोड खर्च भई सकेको नगरपालिकाले जनाएको छ । एक सय २१ बिघा क्षेत्रफलमा निर्माणाधिन अवस्थामा रहेको ताल ‘बहुउद्देश्यीय परियोजना सम्पन्न गर्न अर्को करिब रु एक अर्ब लगानी अनुमान गरिएको नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् । उनका अनुसार ताल निर्माण सम्पन्न गरिसक्दा करिब रु दुई अर्ब खर्च हुने अनुमान गरिएकोे छ ।
अहिले तालले बाटोसहित एक सय २१ बिघा क्षेत्रफल ओगटेको छ । त्यस क्षेत्रमा दुई सय ५० बिघा क्षेत्रफलमा आर्थिक गतिविधि सिर्जना गरिने नगर प्रमुख थापाले बताए ।‘बागमती नदीको बगरलाई प्रयोग गरेका हौँ,यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग हुने छ ।’नगर प्रमुख थापाले बताए ।
वार्षिक २० लाख पर्यटक
भरत ताल अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी वार्षिक करिब २० लाख पर्यटक आउने गन्तव्य बनेको छ । विशेष गरी आन्तरिक र भारतीय पर्यटकको संख्या बढी हुने गरेको नगर प्रमुख थापाले बताए ।‘ताल निर्माणाधीन अवस्थामै रहेको हुँदा अहिले अपेक्षा गरेअनुसार पर्यटक तान्न सकेका छैनौँ,‘निर्माण सम्पन्न भएपछि वार्षिक करिब ६० लाख पर्यटक आउने गरी पर्यटकीय संरचना तयार पार्छौँ ।’नगर प्रमुख थापाले बताए । उनका अनुसार तालमा अहिले दैनिक पाँच सयजनाले रोजगारी पाएका छन् ।
ताल निर्माण सम्पन्न हुँदा दैनिक करिब तीन हजार जनालाई रोजगार सिर्जना हुने छ । साथै तालमा अहिले साना ठूला गरेर करीब ४० वटा बोटहरु दौडि रहेका छन् । ठूलो जेटबोटमा बोटिङ गरेको रु तीन सय र साना बोटहरुमा बोटिङ गरेको रु दुई सय शुल्क लाग्छ,त्यसमध्ये २० प्रतिशत नगरपालिकामा बुझाउनु पर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बिमल पोख्रेलले जानकारी दिए ।