सर्लाहीका ६ जना सहित ९ सय ३ जनाले पाए सरकारी विभूषण

3.1k Shares

७ औँ संविधान दिवसको अवसर पारेर सर्लाही घर भएका एकजना कलाकार तथा सर्लाहीमा कार्यरत ५ जना राष्ट्रसेवक कर्मचारी यस वर्ष विभूषित भएका छन् । हरेक वर्ष संविधान दिवशको अवसर पारृेर गरीने सरकारी विभूषणमा सर्लाहीका ६ जना परेका हुन ।
लालबन्दी नगरपालिका १ को उष्ण प्रदेशीय वागवानी विकास केन्द्रका प्रमुख वरिष्ठ वागवानी विकास अधिकृत पदम प्रसाद अधिकारी र जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राजकुमार थापाले प्रवल जनसेवा श्री पदक प्राप्त गर्नु भएको छ ।  प्रशासकीय अधिकृत थापा सर्लाहीकै हरिवन निवासी हुन् । त्यस्तै बरहथवा घर भई हाल चर्चित हाँँस्य कलाकार शिवशंकर रिजाल(जोगेन्दर पान वाला) ले जनसेवा श्री पदक प्राप्त गर्नु भएको छ ।
 त्यस्तै नेपाली सेना भैरवी दल गण पाँचकुमारीमा कार्यरत तीनजनाले प्राकृतिक प्रकोप विपतोद्वार पदक प्राप्त गरेका छन् । उक्त गणका जमदार धिरेन्द्र यादव, हुद्दा लंकमान तामाङ र प्युठ रामबहादुर नेपालीले उक्त पदक प्राप्त गरेका हुन् ।
त्यसैगरी तत्कालिन रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारी र ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्रप्रसाद उपाध्यायले पनि प्रवल जनसेवा श्री पदक प्राप्त गरेका छन् । प्रमुख सेनानी तिवारी हाल नेपाली सैनिक वार कलेज तथा प्रहरी निरक्षक उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले विभिन्न पदकद्वारा विभूषित गर्नका लागि सर्लाहीबाट राष्ट्रसेवक, समाजसेवी लगायत ६ जनाको नाम सिफारिस गरेको थियो । उक्त सिफारिस मध्ये प्रशासकीय अधिकृत थापा एकजनाले मात्र पदक प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । वरिष्ठ वागवानी विकास अधिकृत अधिकारी र हाँस्य कलाकार रिजाल भने केन्द्रबाटै विभूषितमा पर्नु भएको हो । 
देश र जनताका लागि उल्लेखनीय कार्य गरेको भन्दै सरकारले हरेक वर्ष संविधान दिवसका दिन राष्ट्रसेवक, राजनीतिकर्मी, संचारकर्मी, समाजसेवी, कानून व्यवसायी, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी लगायतलाई विभिन्न विभूषण प्रदान गर्ने गरेको छ । सरकारले यसवर्ष ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदकद्वारा ९ सय ३ जनालाई सम्मान गर्नु भएको छ । 
सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच पदक प्रदान गर्नु भएको छ । कतिपयले भने विभूषित हुने भनेर नाम सार्वजनिक भएलगतै धमाधम विभूषण र पदक नलिने घोषणा गरिरहेका छन् । नेपाल सरकार गृह मन्त्रालयले आज (आईतबार) विभूषित हुनेहरुको नामावली प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार