Close This

संविधान दिवसको अवसरमा भएको रक्तदानमा १९ जनाले गरे रक्तदान,मुख्य दिन सोमबार जिल्लाभर वृक्षरोपण, सरसफाई, दीप प्रज्वलन गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२ गते   १५७ पटक हेरिएको

सर्लाही सदरमुकाम मलङ्गवामा संविधान दिवसको अवसर पारेर आइतबार आयोजित रक्तदान शिविरमा १९ जनाले रक्तदान गरेका छन् । संविधान दिवस मूल समारोह समिति सर्लाहीको आयोजनामा प्रादेशिक अस्पताल मलङ्गवाको परिसरभित्र आयोजित रक्तदान शिविरमा १९ जनाले रक्तदान गरेका हुन् । 
संकलित रगत नेपाल रेडक्रस सोसाइटी मलङ्गवा शाखाले अस्पताल परिसरमै सञ्चालन गरिरहेको रक्तसञ्चार केन्द्र (ब्लड) बैंकमा राखेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतो,सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा आइतबार बिहान रक्तदान शिविर उद्घाटन गरिएको हो ।
संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गर्ने संविधान दिवस मूल समारोह समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताए । सोही निर्णय अनुसार सोमबार संविधान दिवसकै मुख्यदिन जिल्लाभर वृक्षरोपण, सरसफाई, दीप प्रज्वलनलगायतका कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी गौमतले बताए । संविधान जारी भएको दिन असोज ३ लाईहरेक वर्षसंविधान दिवश मनाउने गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech