सर्लाहीको ईश्वरपुर नगरपालिका १२ फूलजोरमा इन्टेक निर्माण गरिएको छ ।इश्वरपुर नगरपालिका १२ फूलजोर गाउँमा“एक घर,एक धारा”को अवधारण अन्तर्गत प्रत्येक घरधुरीमा खानेपानी पुुर्याउने लक्ष्यसहित धमाधम इन्टेक निर्माणको काम भइरहेको इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिए।उनका अनुसार इश्वरपुर नगरपालिका १२ फूलजोरका ८० घरधुरीमा खानेपानी सुविधा पुुर्याउने लक्ष्यसहित इन्टेक निर्माण गरिएको हो ।

ईश्वरपुर नगरपालिका १२ र लालबन्दी नगरपालिका १५ को सीमास्थित फूलजोर खोलामा ३० हजार लिटर क्षमताको खानेपानी इन्टेक ट्याङकी निर्माण गरिएको फूलजोर(झोलुंगेपुल खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र राज खत्रीले जानकारी दिए।उनका अनुसार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले रु ५२ लाख र इश्वरपुर नगरपालिका १२ तथा इश्वरपुर नगरपालिकाबाट गरी रु पाँच लाख ५६ हजार बजेट विनियोजन गरि फूलजोर(झोलुुंगेपुल खानेपानी आयोजनाका लागि इन्टेक निर्माण गरी संकलन भएको पानी र नजिकै बाह्रैमास रसाइरहने पानी फिल्टर गरेर घरघरमा खानेपानी वितरण गर्ने योजना बनाइएको छ ।फूलजोर खोलाको किनारमै रहेको फूलजोर गाउँका स्थानीयले अहिले बाँके खोलातर्फबाट ल्याइएको खानेपानी पिउँदै आएका छन् ।बाँके खोलाबाट ल्याइएको पानी नियमित नआउँदा खानेपानीको समस्या रहेको स्थानीयको छ ।

त्यसैगरी,ईश्वरपुर नगरपालिका १२ को बाँके खोलामा पनि मधेश प्रदेश सरकारको रु ७० लाख बजेटबाट एक हजार घरधुरीलाई खानेपानी सुविधा पुुर्याउने लक्ष्यसहित काम भइरहेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए।उनका अनुसार फूलजोर र बाँके दुवैतर्फको खोलामा खानेपानी आयोजनाको काम भइरहेको र आयोजना सफल भए वडाभित्र खानेपानीको समस्या धेरै हदसम्म कम हुने विश्वास गरिएको छ।सुख्खायाम सुरु भएसंगै सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानीको समस्या देखिने गरेपछि स्थानीय र प्रदेश सरकारका साथै दातृ निकायहरुको ध्यानाकर्षण भएको हो ।

जिल्लाको इश्वरपुर नगरपालिका १२ का साथै लालबन्दी नगरपालिका १२,१३,१४ र १५,हरिवन नगरपालिका १ र बागमती नगरपालिका १ का चुरे पाहाडी क्षेत्रहरुमा सुख्खायाम सुरु भएसंगै पिउँने पानीको अभाव हुने गरेकोमा पछिल्लो समय बागमती नगरपालिका १ र हरिवन नगरपालिका १ का विभिन्न स्थानहरुमा लिफ्टीङ्ग प्रविधि मार्फत पिउँने पानी पुर्याउने काम भएको छ ।तर मधेशको कर्णाली लालबन्दी नगरपालिका १४ का साथै लालबन्दी नगरपालिका १२ र १५ तथा इश्वरपुर नगरपालिका १२ का चुरे पाहाडी क्षेत्रमा पिउँने पानीको समस्या यथावतै रहेको छ ।

बैकल्पीकस्रोतको व्यवस्था नहुनु र भौगोलिक हिसाबले विकट भएका कारण स्थानीय सरकारलेमात्रै चाहेर त्यस क्षेत्रमा पिउँने पानी पुर्याउन सक्ने अवस्था नरहेको जनप्रतिनिधिहरुको गुनासो छ ।