Close This

सर्लाहीका करिब ५ हजार जनालाई कोरोना विरुद्धको पहिलो खोप लगाइने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१३ गते   २५२ पटक हेरिएको

 कोरोना विरुद्वको खोप अभियान प्रदेश नम्बर २ कमा आठै जिल्लामा एकैसाथ बुधबारबाट सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ  । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रदेशका आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको जनाएको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीहरुले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।
पर्साको वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र राजविराजमा सामाजिक विकास मन्त्री नवल किशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ ।
 वीरगञ्जको नारायणी अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान एकैसाथ  प्रारम्भ गरिने भएको छ । मुख्यमन्त्री र मन्त्रीहरु खोप शुभारम्भ गराउने कार्यक्रममा सहभागिता जनाए पनि उनीहरुले खोप नलगाउने भएका छन् ।
 निर्देशिकामा फ्रन्टलाइनमा रहेका व्यक्तिलाई खोप दिइने उल्लेख रहेकाले पहिला फ्रन्टलाइनरलाई मात्रै खोप दिइने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ । सर्लाहीका लागि ४ हजार ७ सय ७२, रौतहटका लागि ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५,पर्साका लागि ४ हजार ९ सय ७१, सप्तरीका लागि ३ हजार ७ सय ५४, सिराहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२ र महोत्तरीका लागि २ हजार १ सय ९१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार प्रदेशका आठै जिल्ला सदरमुकाममा रहेका  जिल्ला अस्पतालबाट एकै पटक कोरोना विरुद्धको खोपको सुभारम्भ हुने छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech