सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ । जारी सिजनमा ७९ दिन उखु क्रसिङ गरेर ईन्दुशंकर चिनी उद्योगले उखु लिन बन्द गरेको हो । उद्योगले यो सिजनमा २२ लाख १६ हजार क्वुन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनु भयो । गत वर्ष करिब २६ लाख ५० हजार क्वुन्टल उखु क्रसिङ गरेको उद्योगले यस वर्ष करिब ४ लाख कम उखु क्रसिङ गरेको हो ।
चालू सिजनमा २५ लाख क्वुन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भएपनि विविध कारणले लक्ष्य अनुसार उखु पेल्न नसकिएको उद्योगले जनाएको छ । ईन्दुशंकर गत पुस ६ गतेदेखि सञ्चालनमा आएको थियो ।
उद्योगबाटै उखुको भुक्तानि वर्षौंसम्म नपाईने अनि सरकारी अनुदान पाउन पनि वर्षदिन भन्दा बढी कुर्नुपर्ने लगायत झञ्झट बेहोर्नु पर्ने भएपछि किसानले पछिल्लो समय उखु खेती छाड्दै गएका छन् । जसका कारण चिनी उद्योगहरुको लक्ष्य अनुसार उखु क्रसिङ हुन सकेको छैन । ईन्दुशंकरले केही वर्षअघिमात्र करिब ४० लाख क्वुन्टल उखु क्रसिङ गरेको थियो ।
अन्य चिनी उद्योगले भुक्तानिमा किसानलाई लामो समयसम्म हैरानी दिइ रहेपनि इन्दुशंकरले भने निरन्तर भुक्तानि गरिरहेको उखु प्रवन्धक रजकले दावी गर्नु भयो । उद्योगले जारी सिजनमै रु ७५ करोड भुक्तानी गरिसकेको र फागुन १ देखि १५ गते सम्मको बाँकी भुक्तानी रु ३० करोड मध्ये रु १९ करोडको भुक्तानी तालीका प्रकाशित गरिएको र सो भुक्तानी चैत्र १ गतेबाट सुरु गरिने उखु प्रवन्धक रजकले जानकारी दिनु भयो ।
सर्लाहीकै गोडैता नगरपालिकामा रहेको बगदहमा रहेको महालक्ष्मी सुगर मिल पनि फागुन १९ गते नै बन्द भईसकेको छ । ८ लाख ९० हजार क्वुन्टल उखु क्रसिङ गरेको सो उद्योगले अझै पनि किसानहरुको भुक्तानी गरेकोे छैन् ।
अघिल्ला वर्षहरुमा पनि उखु उत्पादक किसानहरुले आन्दोलन गरेपछि मात्रै महालक्ष्मीले पूरा भुक्तानी गरेको थियो । महालक्ष्मीले पुस ५ गतेदेखि उद्योग सञ्चालन गरेको भएपनि चार÷पाँच दिनको मात्रै भुक्तानी गरेको किसानहरुले बताएका छन् । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये धनकौलको अन्नपूर्ण चिनी उद्योग गत र यो वर्ष सञ्चालन नै हुन सकेन । भने नेपाली उखु उत्पादक किसानहरुले उखु उत्पादन घटाएपछि उद्योगहरुलाइ उखुको अभाव समेत भएको थियो ।