सर्लाहीको हरिपुर्वा नगरपालिका ३ धनकौलको राष्ट्रिय आधारभूत विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्राधानाध्यापकले कुटपिट गरेका छन्। धनकौक कै स्थानीय बासिन्दा समेत रहेका प्रधानाध्यापक हरिनारायण कुशवाहाले आफ्नै विद्यालयका शिक्षक र विद्यार्थीहरुकै अगाडी कुटपिट तथा गाली बेइज्जती गरि विद्यालयबाट निकालेको उक्त विद्यालयका शिक्षक चन्द्रनगर गाउँपालिका ३ बरकुर्वाका राजिब महतोले बताएका छन् ।
प्रधानाध्यापक कुशवाहाले सोमबार बिहान १० बजे नेपाल राष्ट्र बैंकमा आफ्नो र प्रधानाध्यापक कुशवाहालेको नाममा संचालन भएको विद्यालयको खाताबाट शिक्षकहरुलाई तलब खुवाउन भन्दै रकम निकाल्न खाली चेकमा हस्ताक्षर गराउन खोजेपछि आफुले नमान्दा आफुमाथी कुटपिट भएको पिडित शिक्षक महतोले बताउनु भयो ।
“खाताबाट रकम झिक्नको लागि मलाई ब्ल्यांक चेकमा सही गराउन खोज्नु भयो मैले नमानेपछि उहाँले गाउँकै चार/पाँच जना केटाहरुलाई विद्यालयमा बोलाएर म माथी कुटपिट गरि विद्यालयको परिसरबाट धक्का दिएर बाहिर निकाल्नु भयो ।” पिडित शिक्षक महतोले भने ।
गाउँका अराजक सैलीका केटाहरुको कुटाइबाट शिक्षक महतोको शरिरमा चोटपटक लागेको स्थानिय प्रत्यक्षदर्शी संगिता देवीले बताउनु भयो । प्रधानाध्यापक कुशवाहा उक्त ठाउँका स्थानीय बासिन्दा भएकाले यसभन्दा अघिपनि आफुलाई धम्की तथा डरत्रास देखाएर ब्ल्यांक चेकमा हस्ताक्षर गराइसकेको शिक्षक महतोले बताएका छन् । उक्त विद्यालयमा प्रधानाध्यापक कुशवाहाको मनमानी चल्ने गरेकोले विरोध गर्न खोज्दा शिक्षकहरुलाई धम्काउने गरेको उनले बताएका छन् ।
शिक्षक महतो अहिले न्यायका लागि जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिपुर्वा नगरपालिकाको शिक्षा शाखामा उजुरी लिएर पुगेका छन् । उनले प्रधानाध्यापक कुशवाहालाई कार्यवाहीको माग गरेर नगरपालिका र शिक्षा शाखामा लिखित निवेदन दिइसकेको बताए । भने प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिने तयारी गरि रहेको बताएका छन् ।