सिरहामा सवारी चालक एकता अभियानको सुरु भएको छ।सिरहाका सवारी चालकहरूलाई एकजुट गर्ने उद्देश्यले अभियान सुरु गरिएको सवारी चालकहरुले बताएका छन् ।मारुती सिमेन्ट उद्योग र शौर्य सिमेन्ट उद्योगका साथै अन्य केही उद्योगहरु रहेको सिरहामा सवारी चालकहरु भेला भएर ११ बुँदे मागपत्र सार्वजनिक गर्दै अभियानको औपचारिक सुरुवात गरेका छन्।
चालकहरूले आफ्नो पेशासँग सम्बन्धित इन्धनमा राहत,सडकको सुधार तथा मर्मत,कर तथा जरिवानालाई व्यवहारिक बनाउने,चालकहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्ने,स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने,चालक कल्याण कोष स्थापना गर्ने तथा कानुनी प्रक्रियालाई सहज बनाउने लगायतका विषय उनीहरुले आफ्ना मागमा समेटेका छन्।
चालकहरूले सरकारबाट आफूहरूमाथि हुँदै आएको दमन,शोषण र ज्यादती अन्त्य हुनुपर्ने साथै, चालक सम्बन्धी कडा सजाय व्यवस्थाको पुनरावलोकन गर्न,ट्राफिक कारबाहीलाई व्यावहारिक र न्यायपूर्ण बनाउन तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन्।
आगामी असार ६ गते हुने भेलालाई सफल बनाउने र अभियानलाई राष्ट्रव्यापी बनाउने उनीहरुले बताएका छन्।चालकहरूको हक,हित र सम्मानका लागि सुरु गरिएको यस अभियानले आगामी दिनमा थप सशक्त रूपमा आफ्ना मागहरू उठाउने जनाएको छ।यो अभियान सिरहामा मात्र सीमित नरही मेचीदेखि महाकालीसम्म देशभरका चालकहरूको साझा आवाजका रूपमा विस्तार गरिने उनीहरुले बताएका छन् ।
“एकता,अधिकार र सम्मानका लागि चालकहरू एकजुट बनौँ।”भन्ने मुल नाराका साथ उनीहरूले प्रत्येक जिल्लाका चालकहरूलाई एकजुट बनाई आफ्नो हक,अधिकार,सुरक्षा र सम्मानका लागि आवाज उठाउन आव्हान गरेका छन्।