Close This

पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्ष पदको लागी युनियनका क्षेत्री घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-९ गते   ३२९ पटक हेरिएको

अध्यक्ष पदको उम्मेदवारका प्रत्यासी खड्का,राय र उम्मेदवार घोषणा गरेका क्षेत्री,सहमतीपछिको सामुहिक तस्बीर

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि नेपाल प्रेस युनियन सर्लाहीले टंकबहादुर क्षेत्रीलाई अध्यक्ष पदको उम्मेदवारको घोषणा गरेको छ ।
नागरिक दैनिकका पत्रिकाका पत्रकार क्षेत्रीलाई युनियनले अध्यक्षको उम्मेद्वारमा सर्बसम्मत रुपमा उम्मेदवार घोषणा गरेको हो । 
युनियनको तर्फबाट महासंघ सर्लाहीको अध्यक्षका लागि रामबाबु खड्का र विद्यानन्द राय पनि अध्यक्ष पदको लागि तयारी रहेका थिए । प्रेस युनियनको विस्तारित बैठकले केही दिनअघि गठन गरेको कार्यदलको हरिवनमा बसेको बैठकले क्षेत्रीलाई सर्बसम्मत रुपमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्ष पदको उम्मेद्वार घोषणा गरेको हो  ।
प्रेस युनियन सर्लाहीको विस्तारित बैठकले केन्द्रीय सदस्य रोशन न्यौपानेको संयोजकत्वमा पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण कुमार एस्माली, पत्रकार महासंघका प्रदेश सदस्य एवं प्रेस युनियनका पूर्व अध्यक्ष अजित कुमार सिंह, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलिया, प्रेस युनियनका केन्द्रीय पार्षद ओमप्रकाश ठाकुर लगायत रहेको कार्यदल गठन गरेको थियो । युनियनबाट अध्यक्षका प्रत्यासीको रुपमा रहेका खड्का र यादवले पनि क्षेत्रीका लागि पूर्ण रुपले सहयोग गर्ने र संगठनले गरेको निर्णय आफूहरुलाई मान्य रहेको बताएका छन् ।
युनियनले गठन गरेको कार्यदलका संयोजक न्यौपानेले पत्रकारिता क्षेत्रसँग सम्बन्धित प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, लगायत अन्य विभिन्न संघ संगठनसँग पनि सहकार्यका लागि संवादको प्रकृया अगाडी बढाईने जानकारी दिनु भयो । कार्यदलका सदस्य एवं पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एस्मालीले पनि अब युनियनको तर्फबाट क्षेत्रीको नेतृत्वमा सर्बसम्मत रुपमा कार्यसमिति चयन गर्नका लागि प्रयास भईरहेको बताउनु भयो । पत्रकार महासंघको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको आगामी चैत २५ गते एकैसाथ निर्वाचन हुँदैछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech