Close This

सर्लाहीको बागमतीमा अन्न भण्डारण भवन निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१० गते   १६० पटक हेरिएको

 सर्लाहीको बागमती नगरपालिका ५ मा करिब रु १ करोड ५० लाखको लागतमा अन्न भण्डार भवन निर्माण हुने भएको छ । स्थानीय किसानहरुले उत्पादन गरेको कृषि उपज भण्डारण गर्ने गरी भवन तयार गर्न बागमती नगरपालिकाका  नगर प्रमुख भरत कुमार थापाले भवनको शिलान्यास गर्नु भयो । बागमती नगरपालिकाको ५ स्थित शंकरपुरमा स्थानीय किसानहरुले उत्पादन गरेका अन्न भण्डारण गर्न मिल्ने गरी भवन निर्माण थालिएको बागमती नगरपालिकाका नगरप्रमुख थापाले बताउनुभयो ।
तीनै तहका सरकारको लगानी रहने उक्त भवनको निर्माण लागत रु  १ करोड ५० लाख रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताउनुभयो । आफनै क्षेत्रमा उत्पादित अन्न भण्डारण गर्न मिल्ने भवन निर्माण हुने भएपछि नगरका किसानहरु हर्षित भएका छन् । स्थानीय किसानहरुले उत्पादन गरेको कृषि सामग्री भण्डारण गर्ने गरी भवन तयार गर्न लाागिएको नगर प्रमुख थापाले बताउनु भयो ।
उक्त भवनको क्षमता ५० हजार मेट्रिक टन हुने नगरपालिकाका इन्जिनियर सागर पौडेलले जानकारी दिनु भयो । कृषि जोनको रूपमा रहेको बागमती नगर क्षेत्रमा आलु, मकै, गहुँलगायत अन्नबाली अत्यधिक उत्पादन हुने गरेको छ । तर, उत्पादित अन्नबाली भण्डारण गरेर राख्ने ठाउँ नहुँदा किसानले उत्पादन गरेको फसल व्यवस्थापनमा समस्या हुदै आएको थियो ।
 अन्नबाली राख्ने स्थानको अभावमा किसानहरुले उत्पादन गरेको अन्नबाली खेतबाटै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहँदै आएको छ । किसानहरुको उब्जनी भण्डारणको समस्या समाधानका लागि नगरले भवन निर्माण गर्न लागेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनु भयो । स्टोर निर्माण सम्पन्न भएपछि नगरका किसानहरुले उत्पादन गरेको अन्न सुरक्षित राखेर उचित मूल्य निर्धारण भएपछि बिक्री गर्न सक्ने उहाँको भनाइ छ ।  १ वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी पृथ्वी इन्जिनियरिङले ठेक्का पाएको नगरपालिकाका योजना शाखा प्रमुख सुजन बडालले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech