Close This

सर्लाहीमा‘तपाईको मास्क खोई’ अभियान प्रभावकारी बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१६ गते   २५६ पटक हेरिएको

 सर्लाहीको लालबन्दीमा  ‘तपाईको मास्क खोई’ अभियान प्रभावकारी भएको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा मास्क लगाएर हिँड्नेहरुको संख्या बढेको छ ।          कोरोना भाईरस(कोभिड १९ ) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै लालबन्दीको मुख्य बजार क्षेत्रमा ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीले केही दिनदेखि ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गरिरहेको छ । प्रहरीको यो अभियानपछि अहिले लालबन्दी बजार क्षेत्रमा अधिकांशले मास्क लगाएर मात्रै हिँड्न थालेका छन् ।


बजारमा विभिन्न  स्थानबाट आउनेहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराउने गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनु भयो । प्रहरीले मात्रै सबै ठाउँमा पुगेर मास्क लगाउनुस् भन्न नभ्याउने भएकाले अहिलेको बढ्दो महामारीलाई ख्याल गर्दै आफ्नो जिउ ज्यानको सुरक्षाको निम्ती पनि मास्क लगाएर मात्रै हिँड्न र अनावश्यक भीडभाड नगर्न आफुहरुले आग्रह गरेको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।


जिल्लाका अन्य प्रहरी युनिटहरुले पनि ‘तपाईको मास्क खोई’? लेखिएको प्ले कार्ड बोकेर सर्वसाधारण, यात्रु, सवारीका चालक लगायतलाई सम्झाइ बुझाई गरेर मास्क लगाउन आग्रह गरेका छन् । मास्क नलगाउनेहरुलाई भने जिल्ला प्रशासन कार्यालय सर्लाहीको निर्देशनमा रु एक सय जरिवाना समेत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । प्रहरी उपरिक्षक राठौरका अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दै प्रहरीले माइकिङ समेत गरेको छ । 
प्रहरी देख्दा मास्क लगाउने र सर्तकता अपनाउने अन्यथा प्रहरी हिँडेपछि जथाभावी गर्ने प्रवृत्ति अत्यधिक देखिएकाले प्रहरीले गरेको आग्रह र चलाएको अभियान आफूहरुकै लागि हो भनेर बुझिदिन पनि प्रहरी उपरिक्षक राठौरले आग्रह गर्नु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech